गोदावरीका बाह्रै वडाले सार्वजनिक गर्यो नीति,कार्यक्रम तथा बजेट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका बाह्रै वडाले नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । यहि जेठ १ गतेदेखी ६ गतेसम्म सञ्चालन गरिएका वडा भेलाबाट बाह्रै वडाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट ल्याएका हुन ।

वडा भेलामा १२ वडाले कुल १२ करोडको बजेट ल्याएका छन् । जसमा सबैभन्दा धेरै वडा नम्बर १ ले १ करोड २० लाख ९७ हजार ९ सय ९२ रुपैयाँको बजेट ल्याएको छ भने सबैभन्दा कम वडा नम्बर ७ ले ८६ लाख १० हजार ७ सय ८० रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले प्रत्येक वडालाई समानिकरण तर्फ ७०/७० लाख विनियोजन गरेको भए पनि सूत्रमा आधारित बजेट फरक फरक हुने नगरपालिकाले जनाएको छ ।

यस्तै वडा नम्बर २ ले १ करोड १७ लाख ७ हजार ७७ रुपैयाँ, वडा नम्बर ३ ले ९५ लाख ९४ हजार ८५ रुपैयाँ, वडा नम्बर ४ ले १ करोड १८ लाख, वडा नम्बर ५ ले १ करोड १ लाख ५५ हजार, वडा नम्बर ६ ले ९२ लाख २१ हजार ४ सय ५३ रुपैयाँ बजेट ल्याएको छ । त्यस्तै वडा नम्बर ८ ले ९४ लाख २४ हजार ८ सय २३ रुपैयाँ, वडा नम्बर ९ ले ९१ लाख ३४ हजार ५ सय रुपैयाँ, वडा नम्बर १० ले ९३ लाख ३० हजार, वडा नम्बर ११ ले ८६ लाख ५१ हजार र वडा नम्बर १२ ले १ करोड २ लाख २६ हजार रुपैयाँ बजेट ल्याएको छ ।

वडाले ल्याएका बजेटमा पहिलो प्राथमिकता पूर्वाधार विकासलाई दिएका छन् । पूर्वाधार विकास अन्तरगत सडक कालोपत्रे, नाला निर्माण, ग्राभेल, खोलानालामा कल्भर्ट निर्माण लगायतका योजना समेटिएको वडाहरूले जनाएका छन् । यस्तै वडाले दोस्रो प्राथमिकतामा सामाजिक विकासलाई राखेको छ ।

सामाजिक विकास तर्फ सामाजिक सुरक्षाका कार्यक्रम, विभिन्न किसिमका सीपमूलक तालिम, जनचेतनाका कार्यक्रम, कला संस्कृति संरक्षणका कार्यक्रम गर्ने वडाहरूले जनाएका छन् । यस्तै धेरै वडाले तेस्रो प्राथमिकतामा आर्थिक विकासका कार्यक्रम राखेको छ । आर्थिक विकास तर्फ तालिम, अनुदान, पर्यटन विकास जस्ता कार्यक्रम राखिएका छन् ।

वडाहरूले बाँकी वन तथा वातावरण क्षेत्र, सुशासन तथा संस्थागत विकासका लागि बजेट छुट्याएका छन् । जसअन्तर्गत वन, भू संरक्षण, फोहर मैला व्यवस्थापन, कार्यालय खर्च राखिएको छ ।

Dhn_Tihar & Chhat 2082
Loading...