अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले पनि धनगढी–अत्तरिया ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडानका लागि काम शुरु गरेको छ । नगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा सडक बत्ती जडानका लागि आजदेखी काम सुरु गरिएको हो ।
गेटादेखि अत्तरियासम्म स्मार्ट सडक बत्ती जडानका लागि सुर्योदय ऊर्जा प्रालिले काम थालेको नगरप्रमुख बिरेन्द्र भट्टले बताए । उनले बिगतका दिनमा सामाजिक सञ्जाल र मिडियामा गोदावरी नगरक्षेत्र अन्तर्गत अत्तरिया-धनगढी ६ लेन सडकमा स्मार्ट सडक बत्ती बलेन भनेर आलोचना गर्दै आएकामा आजदेखी सडक बत्ती जडान कार्य शुरु भई दुई महिनाभित्र सडक क्षेत्र उज्यालो हुने बताए । नगरप्रमुख भट्टले यसमा सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए ।
गेटाको ट्राफिक चेक पोष्ट नजिकको चोक र मनहरा पुल नजिक दुई ओटा हाई मास्ट लाइट र अन्य १८३ ओटा स्ट्रीट लाइट जडान गरिने भएका छन् । २८ मिटरको दूरीमा सडकको मिडियन भागमा स्ट्रीट लाइटहरू जडान गर्न पोलका लागि खाडल खनिदैछन् । गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरले २ करोड ३४ लाख १६ हजार ६ सय ३१ रुपैयाँको लागतमा सम्झौता भई काम सुरु गरिएको बताए । जसमध्ये १ करोड ५२ लाख २० हजार ८ सय १० रुपैयाँ गोदावरी नगरपालिकाको र बाँकी रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने ई.कुँवरले बताएका छन् ।
त्यसैगरी ६ लेन सडक खण्डमा २, तेघरी ब्यारेक कापडाको बोट नजिक एक र वडा नम्बर ११ को गौडी चोकमा पनि हाई मास्ट लाईट जडान गरिने भएको छ ।
सुर्योदय ऊर्जा प्रालिका इन्जिनियर रबिन महतोका अनुसार २ महिना भित्र निर्माणको काम सम्पन्न गर्ने गरी काम सुरु भएको यद्यपि ठेक्का अवधि अझै ६ महिना बाँकी रहेको छ ।
यस बर्ष दशै तिहार अघिनै गोदावरी नगरपालिकामा पर्ने ६ लेन सडक पनि झिलिमिली हुने भएको छ । गोदावरी नगरपालिकाले यसअघि मेडियनमा हरियाली बनाउने काम सम्पन्न गरिसकेको छ ।