गोदावरी-३ चौकिडाँडामा निर्माणाधिन ब्याडमिन्टन कोर्ट अलपत्र

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकिडाँडामा निर्माणाधिन ब्याडमिन्टन कोर्ट अलपत्र परेको छ । बजेट अभावमा इन्डोर ब्याडमिन्टन कोर्ट निर्माण गर्न समस्या परेपछि अलपत्र परेको हो ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले १ करोड ३० लाख लागत स्टमेट भएको कोर्टको फाउन्डेसन तयार गर्न आर्थिक वर्ष २०७८/०७९ मा १५ लाख विनियोजन गरेको थियो । पहिलो वर्ष प्रदेश सरकारले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो तर, त्यसपछि उक्त योजना सम्पन्न गर्नका लागि थप बजेटको जोहो नहुँदा हाल ब्याडमिन्टन कोर्ट अलपत्र छ ।

कोर्टको २०७९ माघ १४ गते प्रदेश सांसद प्रकाश बमले उद्घाटन गरेका थिए । सो क्रममा ब्याडमिन्टन कोर्टका लागि आवश्यक रकमको जोहो गर्ने बताएका उनी हाल प्रदेशको अर्थ राज्यमन्त्री बनेका छन् ।

चालु आर्थिक वर्षमा कोर्ट निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ । तर, उक्त रकमले कोर्टको छानो मात्रै निर्माण हुने निर्माण कम्पनी महेश डेभलपर प्रालिका प्रतिनिधि विष्णु खड्काले बताए । उनले स्टमेट अनुसार कोर्टमा हाल उठाइएका ८ फिटका पिल्लरमा १८ फिट थप गरेर छानो मात्रै लगाइने बताए ।

कोर्ट निर्माणका लागि सामाजिक विकास मन्त्रालय अन्तरगतको सामाजिक विकास कार्यालयले यही वैशाखमा सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त काम असार मसान्तमा सक्नुपर्ने छ । निर्माण कम्पनीले उक्त कामका लागि बिलोमा १८ लाखमा ठेक्का सम्झौता गरेको छ । चालु आर्थिक वर्षको बजेटले छानो बने पनि भित्ताको काम पनि अधुरो रहने भएकाले कोर्ट पुन अलपत्र पर्ने अवस्था छ ।

पछिल्लो समय अत्तरिया क्षेत्रमा ब्याडमिन्टन खेल्ने खेलाडीहरूको सङ्ख्या बढ्दै गइरहेको छ तर ब्याडमिन्टनको क्रेज दिनानुदिन बढ्दै गए पनि इन्डोर खेलमैदान नहुँदा यहाँ समस्या हुने गरेको छ ।

Nabadurga Sunchadi
Loading...