सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
साेडारीकाे सांसद पद स्वत: निलम्बन
काठमाडौँ : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।
अख्तियारले साेडारीसँग एक कराेड ८ लाख ३८ हजार ३०२ रूपैयाँ बिगाे असुल उपर गरि अवैध रूपमा कमाएकाे सम्पत्ती जफत गर्नुपर्ने माग दाबी पेश गरेकाे छ । कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा १ बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् । २०७४ को निर्वाचनमा पनि सोडारी यही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।
उनी गत वर्ष बैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले केन्द्रमा काँग्रेस-एमालेको गठबन्धन बनेसँगै अल्पमतमा परेपछि साउन १८ गते पदबाट राजीनामा दिएका थिए । भ्रष्टाचार मुद्दा दायर भएपछि साेडारी प्रदेश सभा सदस्य पदबाट स्वत: निलम्बन हुने भएका छन् । उनी नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता समेत हुन् ।
यसरी निलम्बन हुँदा साेडारीले प्रदेश सभा सदस्यका हैसियतमा कुनै पनि काम गर्न पाउने छैनन् भने तलबभत्ता पनि राेकिनेछ । अब सभामुखले साेडारीकाे पद संवत्: निलम्बन भएकाे सूचना प्रदेश सभामा सुनाउनुपर्नेछ ।
