गोदावरीमा आधुनिक आर्यघाट निर्माण गरिँदै

अत्तरिया : कैलालीको गोदावरीमा आधुनिक आर्यघाटको निर्माण कार्य अघि बढेको छ । नदीमा पानी नहुँदा शव दाहसंस्कारमा हुने समस्यालाई मध्यनजर गरेर अटोमेटिक फल्सिङ गर्न मिल्ने आर्यघाट निर्माण गर्न लागिएको हो । जसका लागि पुरानो आर्यघाट रहेकै स्थानमा ७ वटा शव दाहसंस्कार स्थल निर्माण गरिँदै छ ।

गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरले आर्यघाटमा अटोमेटिक फल्सिङ गर्न मिल्ने गरी डिजाइन गरिएको बताए । उनले अटोमेटिक सिस्टम भएकाले आर्यघाटमा फोहर मैला पनि कम हुने बताएका छन् । नेपाल सरकारको पर्यटन मन्त्रालय मार्फत निर्माण हुन लागेको आर्यघाट निर्माणका लागि जगदम्बा भवानी जेभी सँग २ करोड १० लाखमा ठेक्का सम्झौता गरिएको छ । आर्यघाट निर्माणका लागि २०८१ वैशाख ३ गते सम्झौता गरिएकोमा २०८२ असार १५ गते म्याद सकिँदै छ । इन्जिनियर कुँवरले आर्यघाटको हाल ३० प्रतिशत काम सम्पन्न भएको बताए । उनले फाउन्डेसनको काम सकिएकाले निर्माण व्यवसायीले तोकिएको समय भित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको बताएका छन् । आर्यघाटमम आवश्यक पानीको लागि सोही योजना अन्तरगत ३ लाख लिटर क्षमताको ट्याङ्की निर्माण भइरहेको इन्जिनियर कुँवरले बताए । शव जलाउने काम भने दाउराबाटै हुने बताएका छन् ।

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले खोलामा पानी नहुने भएकाले आधुनिक आर्यघाटको निर्माण पछि सहजता हुने बताए। उनले आर्यघाट निर्माण भएमा खोलामा पानी नभए पनि सजिलै दाहसंस्कार गर्न सकिने बताएका छन् । आर्यघाट सञ्चालनका लागि नगर परिषद्बाट कार्यविधि बनाइने नगर प्रमुख भट्टले बताए । उनले परियोजना अन्तरगत नुहाउनको लागि पानीका धारा पनि निर्माण गरिने बताएका छन् ।

स्थानीय हरि भट्टराइले लामो समय देखि माग भए पनि आर्यघाट व्यवस्थापन हुन नसकेकोमा अहिले ठुलो योजना आउनु गौरवको कुरा भएको बताए । उनले छिमेकी पालिकाबाट पनि गोदावरीमा शव आउने भए पनि गोदावरी बाहेक कुनै पालिकाले व्यवस्थापनको जिम्मेवारी नलिएको अवस्थामा आधुनिक आर्यघाट निर्माण भएमा सहज हुने बताए ।

Loading...