बाजुराको बाम्का बजारमा भीषण आगलागी हुदा ३५ पसल जलेर नष्ट,८ करोडभन्दा बढीको क्षति
पर्यटनमन्त्री बद्री पाण्डेद्धारा अनुगमन
बाजुरा : बाजुरामा शुक्रबार आगलागी हुदा ३५ वटा पसल जलेर नष्ट भएका छन् । जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा रहेको नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ वटा पसल जलेर नष्ट भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीले बजारका विभिन्न पसलहरूमा ठूलो क्षति पु¥याएको छ । प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले दिएको जानकारीअनुसार प्रारम्भिक अनुमानमा आगलागीबाट करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा सबैभन्दा धेरै योगनाथ न्यौपानेको किनारा पसलमा एक करोड ८० लाख रुपैयाँको क्षति पुगेको छ ।
त्यसैगरी तोयानाथ न्यौपाने, छत्र थापा र धनबहादुर साउँदका पसलमा पनि क्रमशः एक करोड ५० लाख रुपैयाँको क्षति भएको छ । अन्य प्रभावितहरूमा दिपक साउँद, रामु अयडी, तुल कटुवाल र उद्धव थापा रहेका छन् तर उनीहरूको क्षतिको विवरण आउन बाँकी छ। प्रहरीका अनुसार आगलागीबाट फैन्सी, मेडिकल, इलेक्ट्रोनिक, पुस्तक पसल तथा होटलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। साथै भगतराज गिरीको मोटरसाइकल (सु.प.प्र.०१–००१प.४६८१) पनि पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
यसैगरी आगलागीबाट ध्वस्त भएको बाजुराको बाम्का बजारको अनुगमनमा पर्यटनमन्त्री बद्री पाण्डे पुगेका छन्। शुक्रबार दिउँसो आगलागीको घटना सुन्ने बित्तिकै बेलुका नै पर्यटन मन्त्री पाण्डे काठमाडौँबाट बाजुरा प्रस्थान गरेका थिए । शनिबार बिहान मन्त्री पाण्डे घटनास्थल पुगेका थिए । घटनाप्रति उनले दुःख व्यक्त गर्दै तत्काल राहात र पुनस्र्थापनाका लागि पहल गर्ने बताएका छन् । तीनै तहका सरकारको समन्वयमा पीडितको घाउमा मलम लगाउने मन्त्री पाण्डको प्रतिवद्धता छ । स्थलगत अनुगमन लगत्तै सदरमुकाम मार्तडी पुगेर मन्त्री पाण्डेले सरोकारवाला सरकारी निकायको बैठक राखेर राहत र पुनस्र्थापनामा तत्काल जुटन निर्देशन दिएका छन् ।
