कैलालीमा सुत्केरी भाउजूको हत्या आरोपित देवर सार्वजनिक

उत्कृष्ट अनुसन्धान गर्ने टिम पुरस्कृत हुने

अत्तरिया : कैलालीमा सुत्केरी भाउजुको हत्या आरोपित देवर सार्वजनिक गरिएको छ । आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीमा पत्रकार सम्मेलनको आयोजना गर्दै गौरीगंगा नगरपालिका-७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी २० वर्षीय सुत्केरी तुलसी नाथको हत्या आरोपित सहोदर देवर नवीन नाथलाई सार्वजनिक गरिएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले घर नजिकै पानीको नालामा फेला परेको घटनाको सूक्ष्म अनुसन्धान गर्दा हत्या गरेको खुल्न आएको बताए । उनले हत्या आरोपित नवीनले राती अन्दाजी १२ बजेको समयमा ढोका बन्द नभएकाले मृतक तुलसीको कोठामा प्रवेश गरेर सुतिरहेको अवस्थामा नाक, मुख र घाटी समेत च्यापेर मारेको खुल्न आएको बताए । हत्या गरेपछि आरोपित नवीनले गरगहना निकालेर शव घर नजिकै नालामा फालेका थिए ।

प्रहरी जाँदा सम्म मृतकको शव घर अगाडि नालाबाट निकालेर आँगनमा राखिएको थियो भने मृतकको शव जाँच गर्दा कानमा लगाएको सुनका गरगहना निकाली लगेको अवस्थामा पाइएको उनले डिएसपी चन्दले बताए । गरगहना घर नजिकै ढुङ्गा मुनि लुकाएको अवस्थामा फेला परेको हो । प्रहरीले मृतकका गहना आरोपितले भनेकै ठाउँमा लुकाएको अवस्थामा भेटेकाले त्यसैलाई पनि हत्या गरेको पुष्टि हुने आधारका रूपमा लिएको छ । प्रहरीले विगत लामो समय देखि सानोतिनो मनमुटाबहरू घरायसी सामान्य विवादका कारण हत्या गरेको खुल्न आएको जनाएको छ ।

हत्या आरोपित पहिले भारतमा काम गर्दै आएका थिए । पछि काँप्ने लगायतका समस्या भएर उनी चैत महिनामा घरमा आएका प्रहरीले बताएको छ । प्रहरीले मृतकका सासू, ससुरा, पहाडमा रहेको र श्रीमान् भारतमा रोजगारीको सिलसिलामा रहेको अवस्थामा घटना भएको बताएको छ । मृतक तुलसीले हत्या भएको १६ दिन अघि मात्रै छोरालाई जन्म दिएकी थिइन । अहिले नवजात शिशुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकको माइती पक्षले आइतबार जाहेरी दिएकाले पोस्टमार्टम प्रक्रिया पनि अघि बढ्ने बताएको छ । आरोपित माथि कत्र्यव्य जान मुद्दामा अनुसन्धान भइहरेको डिएसपी चन्दले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बाल नरसिंह राणाले निकै जटिल मुद्दालाई इलाका प्रहरी कार्यालय मालाखेतीले उत्कृष्ट अनुसन्धान गरेर दोषी पहिचान गरेको बताए । उनले इप्रका मालाखेतीको अनुसन्धान टिमले एकदमै उत्कृष्ट काम गरेकाले उक्त टिमलाई आजै पुरस्कृत गर्ने बताएका छन् । शवको प्रकृति हेर्दा अनुसन्धानमा कठिनाई देखिएपनि इप्रका मालाखेतीको टिमले उत्कृष्ट कार्य गरेको हुँदा पुरस्कृत गर्न लागिएको उनले बताए । डिएसपी चन्दको कमान्डमा खटिएको ९ जनाको प्रहरी टोलीले उक्त घटनाको अनुसन्धान गरेको थियो ।

Loading...