धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ।उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम १३ औं नगर सभाबाट असार ७ गते पारित भएको हो।
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि दुई जना दलित अभियानकर्ताको नाममा छात्रवृत्ति दिने भएको छ। धनगढीका दलित अभियन्ता जुठे दमाई र टीकाराम पार्कीको नाममा छात्रवृत्ति योजना सुरू हुने भएको हो। नगर सभाबाट पारित भएको वार्षिक नीति तथा कार्यक्रममा दलित अभियन्ता जुठे दमाई योजना छात्रवृत्ति तथा दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति योजना घोषणा गरिएको छ।
यी दुबै छात्रवृत्ति योजना अन्तर्गत धनगढीमा स्थायी बसोबास भएका दलित समुदायका छात्राहरूलाई स्नातक तहसम्मको शिक्षा हासिल गर्न छात्रवृत्ति दिइने छ। शिक्षित आमाको कारण सम्पूर्ण परिवार र सामाज नै शिक्षित हुने भएकाले पछाडि परेको दलित समुदायलाई अगाडि बढाउन सकियोस् भनेर दुई जना अग्रज दलित अभियन्ता जुठे दमाई र टीकाराम पार्कीको सम्मानमा छात्रवृत्ति योजना ल्याइएको नगर प्रमुख गोपाल हमालले बताए। उनले जातीय भेदभाव निर्मुल गर्न शिक्षाले काम गर्ने भएकाले दलित छात्राहरूलाई स्नातक तहसम्म अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने बताए।
यी विषय पढ्नेले पाउँछ्न् छात्रवृत्ति
दलित अभियन्ता जुठे दमाई छात्रवृत्ति योजना अन्तर्गत धनगढी दलित छात्राहरूलाई वार्षिक दुई हजार रुपैयाँ बराबरको स्टेसनरी प्रदान गरिने छ । स्टेसनरीको अभावले अध्ययन गर्न समस्या नहोस् भनेर कक्षा ८देखि १२ सम्मका सम्पूर्ण दलित छात्राहरूलाई वार्षिक दुई हजार रुपैयाँको स्टेसनरी दिने योजना ल्याइएको नगर प्रमुख हमालले बताए ।
यस्तै, कक्षा ११/१२ तथा स्नातक तहमा शिक्षा, कानुन, विज्ञान र कृषि विषय अध्ययन गर्ने धनगढीका दलित छात्राहरूलाई पनि छात्रवृत्ति दिइने छ। शिक्षा, विज्ञान, कृषि र कानुन विषयमा स्नातक उत्तीर्ण हुनासाथ रोजगारीको सम्भावना बढी भएकाले ती विषयमा छात्रवृत्ति दिइने भएको हो। महिला सशक्तीकरणसँगै दलित समुदायको क्षमता र पहुँच विस्तार गर्न छात्रवृत्ति योजना ल्याइएको नगर प्रमुख हमालले बताए ।
‘छात्रवृत्ति योजनाले दलित समुदायका छात्राहरूको शिक्षामा पहुँच वृद्धि, सामाजिक समावेशीकरण र लैङ्गिक समानता प्रवद्र्धन गर्न कक्षा ८ देखि कक्षा १० सम्म अध्ययनरत दलित छात्राहरूलाई प्रति छात्रा वार्षिक २ हजारसम्मको स्टेश्नरी सामाग्री निःशुल्क उपलब्ध गराइने छ,’ उनले भने, ‘कक्षा ११/१२ तथा स्नातक तहमा शिक्षा, विज्ञान, कानुन र कृषि विषय अध्ययन गर्न छात्रवृत्ति दिइने छ।’
‘छात्रवृत्ति योजनाले दलित समुदायको उत्थान हुने’
धनगढी उपमहानगरपालिकाले प्रदान गर्ने भनेको दलित छात्रा छात्रवृत्ति योजनाले शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुगाउने विश्वास गरिएको छ । दलित महिला अधिकार मञ्चका अध्यक्ष साबित्रा घिमिरेले उपमहानगरले दिने भनेको दुईवटा छात्रवृत्तिले आर्थिक, सामाजिक र शैक्षिक रुपले पछाडि परेको दलित समुदायलाई अगाडि बढ्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
उनले धनगढी उपमहानगरपालिकाले जस्तै अन्य पालिकाले पनि दलित महिलाको शिक्षामा पहुँच विस्तार गर्न छात्रवृत्ति योजना ल्याउन सके झनै राम्रो हुने बताइन्। धनगढी उपमहानगरपालिकाले दलित आन्दोलनका प्रमुख दुई जना नेता जुठे दमाई र टीकाराम पार्कीको सम्मानमा छात्रवृत्ति योजना घोषणा गर्नु समग्र दलित आन्दोलन र समुदायकै सम्मान र गौरवको विषय रहेको दलित अभियन्ता एवं नेपाली काँग्रेस डोटीका नेता कुमारसिंह टेलरले बताए। उनले नगर प्रमुख गोपाल हमालले दलित आन्दोलनका अग्रजहरूको नाममा गरेको सम्मान अरूका लागि पनि सिकाइ हुने विश्वास व्यक्त गरेका छन्।
यस्तै, गरिबी निवारण कोषका पूर्व सदस्य वसन्त बागचन्दले धनगढीका दलित आन्दोलनका अगुवा जुठे दमाई र टीकाराम पार्कीको नाममा घोषणा भएको छात्रवृत्ति योजना ऐतिहासिक रहेको टिप्पणी गरेका छन्। उनले नगर प्रमुख हमालले दलित आन्दोलनका ओझेलमा परेका नेताहरूलाई पहिचान दिलाउने सद्प्रयास गरेको बताए। नगर प्रमुख हमालले घोषणा गरेको दलित छात्रा छात्रवृत्ति योजनालाई अहिलेसम्मकै उत्कृष्ट र क्रान्तिकारी एवं सामाजिक आन्दोलनको रुपमा आफूले बुझेको बागचन्दले बताए।
