धनगढी : कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । लम्कीचुहा नगरपालिका-१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जैशी भान्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेको जानकारी दिए ।
मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन । तर मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।
मृतकको शव भने घटनास्थलबाट उठाइएको छैन । उनका छोरा काठमाडौँबाट आइरहेका कारण शव नउठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको डीएसपी सिंहले बताए ।