धनगढी उपमहानगरपालिका-५ मा लागू औषध दुर्व्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिका-५ मा लागू औषध दुव्र्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । धनगढी उपमहानगरपालिका-५ को आर्थिक सहयोगमा पहिलो आरम्भ पुनःस्थापना केन्द्रले सोहि वडामा रहेको पञ्चोदय माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरेको हो ।

पुनःस्थापना केन्द्रका सञ्चालक टंक क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ५ का कार्यवाहक वडाअध्यक्ष दत्तुराम पाण्डे प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै पाण्डेले लागू औषधको भयावह अवस्था रहेको उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमहरूले यस समस्याको न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले खुला सिमाना र सजिलो पहुँचका कारण धनगढी क्षेत्रमा लागू औषधको प्रयोग दिनानुदिन बढ्दै गएको बताउँदै यसको रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए ।

पञ्चोदय माविका सह-प्रधानाध्यापक गंगाराम ओझाले विद्यार्थीहरूलाई लागू औषधको असरबारे सचेत गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले यसले विद्यार्थीहरूलाई बचाउने मात्र नभई समाजमा पनि सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका-५ स्थित सामुदायिक अस्थायी प्रहरी बिटका प्रहरी वरिष्ठ हवल्दार गजेन्द्र सिंह रावल, गोपाल जोशी, पिन्कु राठोर र बासु साउदले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक गोपाल जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा जनप्रतिनिधि यशोदा मिश्र भण्डारी वडा सचिव भमरा कुमारी छेडाल, प्रहरी, विद्यालयका शिक्षक सहित १ सय २५ भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Loading...