कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको सफल उद्धार
प्रमुख जिल्ला अधिकारी, गोदावरीका नगर प्रमुख लगायत उद्धार टोली पुग्यो घटना स्थलमा
अत्तरिया : कैलालीको गोदावरी नदीमा बाढी आएपछि फसेका ६ जनाको उद्धार गरिएको छ । गोदावरी नगरपालिका-४ स्थित गोदावरी नदीमा बुधवार श्राद्ध गर्न गएका कञ्चनपुरको झलारीका ६ जनाको उद्धार गरिएको हो ।

काठे पुल नजिक नदीको बिच भागमा श्राद्ध गरिरहेका उनीहरू गोदावरी नदीमा एक्कासि बाढी आएपछि फसेका थिए । उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयको सहकार्यमा सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले बताए ।
उद्धार गरिएकाहरुमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-६ बस्ने बर्ष ६५ वर्षीय पल्लु शार्की, सोही ठाउँका ६५ वर्षीय भागेश्वरी शार्की, १२ वर्षीय योगेश शार्की, ३५ वर्षीय बिकट शार्की, ३५ वर्षीय बिर शार्की र बेदकोट नगरपालिका-७ का २८ वर्षीय अब्दुल शार्की रहेका छन ।
गोदावरी नदीको बिच भागमा ६ जना फसेका भन्ने खबर पाएलगत्तै कैलाली जिल्ला विपत व्यवस्थापनको टोलि, प्रमुख जिल्ला अधिकारी ई.गोगन बहादुर हमाल, गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, सुरक्षा निकायका प्रमुख लगायत जनप्रतिनिधीहरु गोदावरी पुगेका थिए ।