कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको छ ।
जिल्ला कारागार कार्यालय कञ्चनपुरमा महिला र पुरुषका लागि १ सय ६० जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमताभन्दा तेब्बर बढी ४ सय ५६ जना कैदी बन्दी राखिएको छ। कारागारमा २७ जना महिला, २६ जना भारतीय नागरिक बन्दी रहेको कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए ।
उनका अनुसार अहिले कारागारमा सबैभन्दा बढी लागु औषधका १ सय ६७ जना कैदीबन्दी छन्। ’कारागारमा महिला बन्दीको क्षमता २० जना र पुरुष बन्दीको क्षमता १४० जना हो।’ उनले भने, ’क्षमताभन्दा बढी कैदीबन्दी हुँदा पालको व्यवस्था गरेर राखिएको छ।’ उनले गत पुसमा कारागारमा कैदीबन्दीको सङ्ख्या ५ सय ८० सम्म पुगेको बताए।
’अहिले अदालतले पछि मुद्दाको फैसला छिटो गर्दा बन्दीको सङ्ख्या घट्दै गएको छ।’ जोशीले भने, ’पहिला जस्तो खुला आकाशमुनि बस्नुपर्ने अवस्था छैन हामीले पाल र टिनको व्यवस्था गरेर भए पनि कैदीबन्दी राखेका छौँ।’ कारागारमा अन्य जिल्लाबाट समेत कैदीबन्दी स्थानान्तरण भएका आउने गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले लागु औषधका सेवनका कारण अन्य आपराधिक गतिविधिमा पनि संलग्न हुनेभएकाले पछिल्लो समय आपराधिक घटना बढेको बताए। ’अहिले लागु औषधका कारण पनि आपराधिक घटना बढेका छन्।’
उनले भने, ’लागुऔषध सेवनकर्ताले चोरी गर्ने, ठगी गर्ने, जबरजस्ती करणी र हत्यासम्मका घटना हुन्छन्।’ उनले लागु औषधका कारण पनि आपर अधिक घटना बढेकाले कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको बताए। जिल्ला कारागार कञ्चनपुरमा हाल सबैभन्दा बढी लागु औषधका बन्दी छन्। त्यसैगरि महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ।
