डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत घुससहित पक्राउ

अत्तरिया : डिभिजन वन कार्यालय धनगढी, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादव पक्राउ परेका छन।

यादवलाइ घुस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले सोमवार नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिअनुसार चुरे गाउँपालिका –६ ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग यादवले घुस मागेको उजुरी अख्तियारको कार्यालयमा परेको थियो।

सोही उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले सात लाख ३१ हजार घुस लिइसकेको अवस्थामा यादवलाई रकमसहित डिभिजन वन कार्यालय धनगढीबाट नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Loading...