बाजुरा : बाजुरामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको हिमाली गाउँपालिका–५ मा पर्ने कवाडी–क्युडी सडकको टुनीगडामा बा प्र.०३००१ज ०३३८ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही वडाकी ७६ वर्षीय विजौरा रोकाया, ७५ वर्षीय बाँचकला रोकाया र ३५ वर्षिया जुनेली रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । कार्यालयका अनुसार बिजौरा र बाँचकलाको घटनास्थलमै मृत्यु भएको हो भने जुनेलीको उद्धारका क्रममा मृत्यु भएको हो ।
उद्धारका क्रममा जुनेली रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । उनले सोही गाउँपालिकाको क्युडीबाट वडा नम्बर ५ को वडा कार्यालय कवाडी आउने क्रममा जीप दुर्घटना भएको बताए ।
जीपको क्षमताभन्दा बढी यात्रु सवार रहेको र सडक कच्ची भएका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक चौधरीले बताए । जीपमा सवार भएका १९ जनामध्ये दुर्घटनामा परेका १३ जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था सामान्य रहेको छ ।
उनीहरुको उद्धारका लागि गाउँपालिकाको एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरिएको छ । घाइतेको उपचारका लागि उद्दार गर्न नेपाली सेनाको हेलिकप्टरको पहल भइरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्याले बताए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट जीप दुर्घटनामा परी गम्भीर घाइते भएकालाई सेनाको हेलिकप्टरमार्फत उद्धारका लागि गृह मन्त्रालयमा पत्र पठाइसकेको पाध्याले बताए ।