धुर्ब ओझा/अत्तरिया : कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा रहेका छाडा पशु समस्यालाई दिगोरुपमा व्यवस्थापन गर्ने काम अन्तिम चरणमा रहेको छ। नगरपालिकाको वडा नम्बर ७ मा रहेको गोलादेउ सामुदायिक वनमा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा निर्माण गरिएका गौशालामा सबै वडामा रहेका छाडा पशुचौपाया राखिने भएको हो ।
नगरमा छाडा पशु समस्यालाई दिगोरुपमा व्यवस्थापन गर्न करिब एक सय बिगाहा क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनको खालि भुभागमा धेरै पशु व्यवस्थापन हुने स्थानसहित चरन क्षेत्रको व्यवस्था भएको क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिकाले दुई ओटा ठुला गौशालाका संरचना निर्माण सम्पन्न गरिसकेको छ । पानिको लागि एउटा ठुलो पम्पसेट जडान गरिएको र विच भागमा पर्नेगरी पशु चौपायालाई पानि पिउन दुई ओटा पोखरी निर्माण भईरहेका छन् ।
बुधबार अनुगमन तथा बृक्षारोपणका लागि गौशाला पुगेका गोेदावरी नगरपालिकाका नगरप्रमुख विरेद्र भट्टले गोदावरी क्षेत्रमा रहेका छाडा पशुहरुलाई समय लागेतापनि व्यवस्थीत रुपमा व्यवस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको बताएका छन् । उनले केहि दिनमै नगरपालिका भित्र सडकमा या वडामा ससाना गौशालामा राखिएका छाडा पशुचौपायाहरुलाई ल्याएर एकै ठाउँमा राखिने बताए । “हरेक वडामा गाईगोरुले खेतीपाती नोक्सानी गरेकाले यसलाई दिगो व्यवस्थापन गरौला भन्ने सोचका साथ र पटक पटक सानो सानो खर्च गरेर व्यवस्थीत नहुने किसिमले जानुभन्दा अलिकता समय लाग्यो तर गोदावरी भित्र रहेका जतिपनि छाडा चौपाय व्यवस्थापनका लागि अगाडी लाग्यौ” उनले भने “बिकासको रुपमा यसलाई अगाढी बढाउन सक्यौ, धार्मिक तथा पर्यटकिय रुपमा पनि अगाढी बढाउने जमर्को छ । यसको कार्यबिधि निर्माण गरेर अगाढी बढाउन सक्यौ भने डेरीहरु राख्न सकिने र यहाँ उत्पादन भएका चिज बस्तुहरुलाई आम्दानिका रुपमा लग्न सक्ने गरी हामी अगाडी बढेका छौ ।”

घाँसपातका लागि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीले उपलब्ध गराएका करिब ५ हजार बोटबिरुवाहरु गौशाला क्षेत्रमा बुधबारबाट रोप्न सुरु गरिएको छ । नगर प्रमुख भट्टले बुधबार बिरुवा रोपेर कार्यको थालनी गरेका हुन् । बृक्षारोपणमा गोलादेउ सामुदायिक वनका अध्यक्ष टिकाराम बम लगायत कार्यसमितीका पदाधिकारीहरुको टिम लागेको छ ।
नगरपालिकाले गौशाला क्षेत्रमा तारबार, बोरिङ, लाईट जडान र आवासको व्यवस्था गरेको छ भने प्रदेश सरकारले पशुका लागि दुई ओटा ठुला गौशाला संरचना निर्माण गरेको हो । किसानहरुको ठुलो समस्याका रुपमा छाडा चौपाया रहेका थिए । नगरपालिकाले गौशाला निर्माण गरि दिगो व्यवस्थापन गर्ने भएपछि खेतीबारीमा लगाएका बालीनाली जोगिने विश्वास स्थानियले लिएका छन् । छाडा पशु चौपायाका कारण सडक दुर्घटना, कृषकको बालीनालीको क्षति र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयले वर्षौँ देखि भोग्दै आएका छन ।