एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि सरोकारवालासँग छलफल

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको सञ्चालनका लागि सरोकारवाला बिच छलफल कार्यक्रम गरिएको छ ।

आईतबार गोदावरी नगरपालिकासँगको सहकार्यमा क्षेत्रिय शहरी विकास आयोजनाले निर्माण गरेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र संचालनको लागी समुदायको सवलिकरण कार्यक्रम अन्तर्गत छलफल कार्यक्रम आयोजना गरिएको हो ।

नगरप्रमुख विरेन्द्र भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडी सहित नगरका कर्मचारी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

छलफल कार्यक्रममा नगरमा फोहोरमैला व्यवस्थापनको हालको अवस्था, फोहोर व्यवस्थापनका अवसर र समस्या पहिचान, समुदायस्तरमा सञ्चालन गरिने फोहोरमैला व्यवस्थापनसम्बन्धी सवलिकरण कार्यक्रम र गतिविधिहरु तथा फोहोरमैला व्यवस्थापन केन्द्रका बारेमा जानकारी दिईएको थियो ।

सो विषयमा गोदावरी नगरपालिकामा रहेको फोहोरमैला व्यवस्थापन समितिका सल्लाहकार तथा ग्रिन सुदूरपश्चिम परामर्श तथा स्वच्छ वातावरण प्रा.लिका निर्देशक केशवराज पन्तले प्रस्तुती दिएका थिए । प्रस्तुतीका क्रममा उनले नगरमा फोहोरमैला व्यवस्थापन सम्बन्धि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले फोहोरमैला व्यवस्थापनका लागि सबैको भुमिका उत्तिकै आवश्यक रहेको बताए ।

उनले फोहोरको श्रोतमै वर्गिकरण गर्ने र छुट्टाछुट्टै संकलन गर्दा फोहोरको उचित व्यवस्थापन हुने बताए । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडीले कानुनका भएका कुराहरु कडाईका साथ लागु गर्न सके फोहोरको व्यवस्थापन गर्न सहज हुने बताए ।

जसका लागि स्रोतमा वर्गिकरण गर्न आवश्यक रहेको उनले औल्याए । ‘स्रोतमा नै कडाईका रुपमा फोहोरलाई वर्गिकरण गर्ने कुरा प्राथमिकतामा राखेर हामीले अगाडी बढ्नुपर्छ’ उनले भने ‘नगरपालिकाले स्रोतबाट संकलन गर्न न्यूनतम शुल्क लिने र त्यसको दररेट नगरको कानुनबाट तय गर्नुपर्छ ।’

उनले फोहोरमैला व्यवस्थापनको सवालमा नगरको कानुनमा भएको कुरामा गम्भीर भएर लाग्नुपर्ने बताए । जथाभावी फोहोर गर्नेलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउन सके फोहोरमैला व्यवस्थापन गर्न सहजता हुने उनको भनाई छ । यस्तै नगरप्रमुख विरेन्द्र भट्टले गोदावरीमा फोहोर व्यवस्थापनको क्षेत्रमा ठुलो काम भएको बताए । एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र हरेक ठुलो शहरका लागि आवश्यक भएको र गोदावरीमा सो केन्द्र निर्माण गर्न आफूहरु सफल भएको उनले बताए ।

तर केन्द्र सञ्चालनका लागि सहजता भने नभएको उनले बताए । ‘यो ठुलो प्लान बनेको छ, तर यसलाई कसरी चलाउने, नगरको स्रोतले भ्याउने की नभ्याउने भन्ने चुनौती तपाई हामी सामु छ’ उनले भने ‘यसमा हामी जनप्रतिनिधि साथीहरुले चासो दिन आवश्यक छ, हामी सबै लाग्यौ भने यो सञ्चालनमा धेरै सहजता आउनेछ ।’ उनले सबै वडाका जनप्रतिनिधिहरुले घरबाटै फोहोरमैलाको वर्गिकरण गर्ने कुरामा जनचेतना जगाउन सके फोहोरमैला व्यवस्थापन केन्द्र सजिलै रुपमा अघि बढ्ने बताए ।

उनले एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रलाई सिस्टमका आधारमा सञ्चालन गर्न आवश्यक रहेको बताए । ‘यो दुई वर्षसम्म कम्पनिले नै सञ्चालन गर्ने भएकाले हाम्लाई खासै समस्या पर्दैन होला, तर दुई वर्ष पछि हामीलाई हस्तान्तरण हुँदा यसको सञ्चालन कसरी गर्ने भन्ने चुनौती आउँछ’ उनले भने ‘अहिले जति उपकरणहरु राखिएका छन, त्यसको सञ्चालनका लागि खर्च पनि बढ्ने होला, त्यसैले यसलाइ सिस्टममा लैजान आवश्यक छ ।’

उनले कारबाहीको कुरामा कार्यदिशा बनाएर अगाडी बढ्न सके अझ राम्रो हुने बताए । नगरप्रमुख भट्टले सचेत व्यक्तिहरुले पनि जानाजान विगार्ने काम गर्दा समस्या भैरहेको बताए । उनले बजारका व्यवसायीहरुलाई फोहोरमैलाको बारेमा जानकारी हुँदा पनि जानाजान विगार्ने काम गरिरहेको बताए । ‘बजार क्षेत्रका साथीहरु सचेत छन, तर उनिहरुले जानीजानी त्यो काम गरिरहेका छन ।

फोहोर नालामा फाल्ने काम भएका छन’ उनले भने ‘जनप्रतिनिधिले मात्रै गरेर हुने कुरा हैन, यो शहरलाई सुन्दर बनाउनमा हामी पब्लिकको पनि जिम्मेवारी बन्छ भन्ने कुरा नबुझेसम्म यो क्षेत्रको विकास हुन गाह्रो छ ।’

Dhn_Laingik Hinsa 2082
Loading...