बैतडी : बैतडी जिल्लामा गत आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटनामा वृद्धि आएको छ । उक्त आर्थिक वर्षमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटनाको संख्यामा वृद्धि भएको हो ।
गत आर्थिक वर्षमा जिल्लामा ५९ वटा सवारी दुर्घटना भएका छन । सो दुर्घटनाहरुमा परि ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक दशरथ नाथले उक्त दुर्घटनाहरुमा परेर ३० जना गम्भीर र ५८ जना सामान्य घाईते भएको बताए ।
उनका अनुसार अधिकांश सवारी दुर्घटना ग्रामीण कच्ची सडकमा भएको पाइएको छ । जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा १२ सवारी दुर्घटना भएका थिए । जसमा ११ जनाले ज्यान गुमाएका थिए भने ७ जना गम्भीर र २० जना समान्य घाइते भएका थिए ।
यस्तै आर्थिक वर्ष २०७९/०८० मा १५ सवारी दुर्घटना भएको ट्राफिक कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा १५ जनाको ज्यान गएको थियो भने २८ जना गम्भीर र ५८ जना समान्य घाइते भएका थिए । सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम जारी रहेका ट्राफिक प्रहरीले जनाएको छ ।
तर ग्रामीण क्षेत्रसम्म ट्राफिक प्रहरीको उपस्थित नहुँदा क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका परिपाटीका कारण बढी दुर्घटना हुने गरेका छन् ।
