सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज बेलुकी ५ बजे प्रदेश सभा बैठक बोलाइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सभा सदस्यहरूलाई पक्षमा मत हाल्न ह्विप जारी गरेका छन् ।

आफ्नो पार्टीका मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले गत २० असारमा समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । प्रदेश सभामा कांग्रेस-एमालेको स्पष्ट बहुमत रहेकाले शाहले सजिलै बहुमत पाउने अवस्था छ ।

Dhn_Laingik Hinsa 2082
Loading...