अत्तरिया बजारमा जथाभावि सडकमै सवारी पार्किङ

पार्किङले स्थानीय व्यापारी र यात्रुहरु हैरान

श्याम बोहरा/अत्तरिया : सुदुूरपश्चिम प्रदेशको प्रवेशद्धार कैलालीको अत्तरिया बजार अस्तव्यस्त बनेको छ । अत्तरियामा बसपार्क हुदाहुदैपनि सडकमै जथाभावी सवारी पार्किङले गर्दा बजार अस्तव्यस्त बनेको हो ।

सवारी चालकहरू बसपार्क छोडेर सडकमै गाडी पार्किङ गर्ने र यात्रुहरु ओसारपसार गर्ने गर्दछन् । यसले यहाँको मुख्य सडकलाई साँघुरो र दुर्घटनाको जोखिम समेत निम्त्याएको छ । सडकमा पार्किङका कारण दैनिक रूपमा सवारी जाम हुन्छ भने हिँडडुल गर्ने मानिसहरू पनि असहज महसुस गर्छन् । बजारमा प्राय गरेर बिहान र बेलुकाको समयमा अत्तरिया चोकको चारैतिर यात्रुवाहक हाइस, बस र अटोरिक्सा सडकमै भरिभराउ हुन्छन् ।

यस्तै बजारमा अटोरिक्साले जथाभावी बाटो काट्दा दुर्घटनाको जोखीम समेत बढ्दै गएको छ । उता ट्राफिक प्रहरीले भने बेवास्था गरेको स्थानियले बताएका छन् । सडक किनारमै यात्रुवाहक सवारीसाधन रोकिरहेको हुदापनि ट्राफिक प्रहरीले कुनै वास्ता नगरेको स्थानिय व्यापारीहरुले आरोप लगाएका छन् । अत्तरिया बजार नजिकै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रहेको छ तरपनि बजारमा भने जथाभावि सवारी पार्किङले बजार एकातिर अस्तव्यस्त बनेको छ भने अर्कोतिर दुर्घटनाको जोखीम निम्त्याएको छ ।

बसपार्कमा यातायातका बिभिन्न समिती हुदाहुुदैपनि यात्रुको लोभले गर्दा सडकमै गाडीहरु ल्याएर यात्रुलाई तानातान गरि टिकट काटने गरेको स्थानिय व्यवसायी लोकेश खड्काले बताए । उनले बसपार्क हुदाहुदैपनि सडकमै यसरी सवारी पार्किङ गरेर टिकट काटनाले बजारमा भिडभाड बढेको बताउदै सडकमा महिनामा कहिलेकाँहि देखिने ट्राफिक प्रहरीले पनि कुनै वास्ता नगरेको बताएका छन् ।

अर्का व्यवसायी अत्तमराजवंशीले बजारमा जथाभावि सवारी पार्किङले अत्तरियाका सबै व्यवसायीहरुलाई असर पारेको बताए । उनका अनुसार बसपार्क समिती र ट्राफिक प्रहरीले कुनै चासो नदिएको बताए । सडकमै यात्रुहरुलाई तानातान गर्ने गरेको तर ट्राफिक प्रहरीले त्यसमा भन्दापनि नेता मन्त्रि आएको बेला मात्रै बजारमा सवारी व्यवस्थापन गर्ने गरेको अत्तमराजवंशीको भनाई छ ।

त्यस्तै व्यवसायी राम सापकोटाले बसपार्कबाट टिकट काउन्टरहरुले माईकिङ गरेर सबै सवारी साधनहरुलाई बसपार्कमै अनिवार्य प्रवेश गराई भित्रै टिकट काट्ने नियम बनाउनुपर्ने सुुझाव दिएका छन् । उनले सबैले सामुहिक रुपमालागे मात्रै यसको समाधान हुने बताए । पसल सञ्चालकहरूले भने सडकमा पसल अगाडी छेकिनेगरी रोकिएका गाडीका कारण पसलमा ग्राहक आउन समेत समस्या भइरहेको गुनासो गरेका छन् ।

उनीहरुले सम्बन्धित निकायमा समस्या समाधानका लागि पहल गरेपनि अहिलेसम्म कुनै ठोस समाधान नभएको बताएका छन् । स्थानिय सरकार गोदावरी नगरपालिकाले पनि बसपार्कलाई पूर्ण रूपमा प्रयोगमा ल्याउन सबैलाई निर्देशन दिई सडकलाई अवरुद्ध हुन नदिन आवश्यक पहल चाल्नुपर्ने देखिन्छ । बसपार्कमै सवारी साधनहरु पर्किङ गर्नुपर्ने स्थानियहरुको माग रहेको छ ।

साथै, ट्राफिक प्रहरीले पनि सडकमा सक्रिय भएर सवारी पार्किङ व्यवस्थापन गर्नुपर्ने स्थानियहरुको भनाई छ । यसरी बसपार्क हुँदाहुँदै पनि सडकमा पार्किङ हुँदा बजारमा भीड र जाम बढ्दै गएको छ,जसले दैनिक जनजीवनलाई असर पुर्याइरहेको छ भने दुर्घटनाको जोखीम पनि निम्त्याईरहेको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/share/v/16vxKPVRRW/

Deep Jyoti Pustak psl
Loading...