अत्तरिया : कैलालीको अत्तरिया क्षेत्रमा साढे १७ हेक्टर जग्गा आफ्नो भएको दाबी गर्दै आएको नेपाली सेनाले अत्तरिया बसपार्क, बस्ती र लामिताल क्षेत्र छोडेर तारबार गरिरहेको छ ।
लामो समय देखि बसपार्क, बस्ती र लामिताल आफ्नो भोगाधिकारमा रहेको दाबी गर्दै आएको सेनाले अन्ततः ती संरचना छोडेर तारबाट गरिरहेको हो । सेनाले केही वर्ष यता आफ्नो भोगाधिकारमा रहेको भन्दै अत्तरिया बसपार्क निर्माणमा अवरोध गर्दै आएको थियो भने ६१ घरधुरी रहेको बस्ती हटाउन पनि चेतावनी दिदैं आएको थियो ।
भोगाधिकारमा भएको भने पनि सेनाले उक्त क्षेत्रमा विगत १ वर्ष देखि मात्रै भोगचलन गरिरहेको थियो भने हाल आफ्नो भोगचलनमा रहेको जग्गा संरक्षण गर्ने भन्दै सेनाले तारबार गरिरहेको हो । जसअनुसार हाल सम्म सेनाले ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको पछाडिको भाग छोडेर तिन तिर तारबार गरिसकेको छ ।
दुवै प्रहरी कार्यालयको पछाडिको क्षेत्रमा भने विवाद हुँदा काम रोकिएको छ । प्रहरीले नै सेनाको भोगाधिकार रहेको जग्गामा भौतिक संरचना निर्माण गरेकाले विवाद हुँदा काम रोकिएको श्रोतको दाबी छ । वर्षौँदेखि संरक्षण गरेर भोगचलन गर्दै आएको जग्गा नेपाली सेनालाई नछाड्ने अडान प्रहरीले लिएको छ भने सरकारले गरेको निर्णयका आधारमा भोगाधिकार प्राप्त भइसकेकाले उक्त जग्गामा तारबार गरेर संरक्षण गर्ने नेपाली सेनाले दाबी गरिरहेको छ ।
दुवै पक्ष बिच सहमति नहुँदा हाल उक्त क्षेत्रमा तारबारको काम रोकिएको छ । सेनाले तारबार गरेपछि अत्तरियामा रहेको बौद्ध गुम्बा, रेडक्रस भवन अत्तरिया देखि बौद्ध गुम्बा हुँदै बास्कोटा जाने बाटो सेनाको घेरबार भित्र परेको छ । यद्यपि सेनाले बाटोहरूको निकास र प्रवेशद्वार भने हाल खुलै राखेको छ । प्रवेश र निकासद्धारमा गेट राख्ने सेनाको योजना छ ।
यस्तै बसपार्कबाट लामिताल जाने बाटो पनि सेनाले आफ्नो घेरबार भित्र राखेको छ । लामितालको दक्षिण क्षेत्रको केही भाग सेनाको घेरबार भित्र पर्ने गरी तालको दुबैपट्टि घरबाट गरिएको छ भने ताल क्षेत्रमा भने खाली छोडिएको छ ।
लामो समय देखि विवादित जग्गामा सेनाले ठेक्का मार्फत तारबार गरिरहेको हो । सेनाले ई–विडिङ मार्फत टेन्डर गरी गरिएको ठेक्का सम्झौतामा १ हजार ८ सय मिटर तारबार गर्ने उल्लेख छ । तारबार गर्ने क्षेत्रमा ५ वटा गेट राखिएको छ ।