अछाम : अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ। सेवाग्राहीलाई सहज रूपमा प्रशासनको सेवा प्रवाह गर्न अछाम क्षेत्र नम्बर १ को साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो।
इलाका प्रशासन कार्यालय स्थापनाका लागि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अछामका जनप्रतिनिधिले छलफल गरेका छन्। पालिका, जिल्ला समन्वय, जिल्ला प्रशासन, हुँदै विभिन्न सङ्घीय मन्त्रालयबाट फाइल स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पुुगिसकेको जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले बताए।
अर्थमा स्वीकृतिका लागि रोकिएको छ। कार्यालयको भौतिक संरचनाका लागि प्रक्रिया पनि अघि बढाइएको र पूर्वप्रधानमन्त्रीबाट फोन गराएर छिटो गराइदिनुप¥यो भनेर अनुरोध गरेका उनले बताए। जनताको घरदैलोमा सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय सेवा गरेर सङ्घीयताको अनुभूति गराउन इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने माग राखिएको कुँवरले बताएका छन्।
साँफेबगरमा इलाका प्रशासन कार्यालय नहुँदा जनतालाई सेवा लिन मङ्गलसेन धाउनुपर्ने बाध्यता भएकाले त्यसको अन्त्यका लागि पूर्वप्रधानमन्त्रीलाई भेट गरिएको समन्वय प्रमुख कुँवरले बताए।
साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले जनतालाई सेवा लिन समस्या भइरहेकाले साँफेबगरमा इलाका प्रशासन कार्यालयको आवश्यकता देखिएकाले इलाका प्रशासन कार्यालय स्थापना गर्न माग राखिएको बताए। कुँवरले सोमवार पूर्वप्रधानमन्त्री देउवासँग छलफल गरेर इलाका प्रशासन कार्यालयको स्थापनाका लागि माग राखिएको बताए।