कञ्चनपुर : प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली राष्ट्रको आवश्यकता भएको बताएका छन् ।
शुक्रबार कञ्चनपुरमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले ओलीलाई वर्तमान समयको राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्षम एक मात्र नेता प्रधानमन्त्री ओली भएको बताएका हुन् ।
चौतारीको प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले भने, “अहिलेको चुनौतीको सामना गर्न दृढ, स्पष्ट र निडर नेतृत्व ओलीसँग मात्रै छ ।” उनले प्रविधि र न्यू मिडिया मैत्री पत्रकारितालाई युगको आवश्यकता बताउँदै समयसँगै समायोजन हुने, समाजको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने तथा विश्वाससहितको सूचना प्रवाह गर्ने पत्रकारिता नै प्रेस चौतारीको मूल लक्ष्य भएको स्पष्ट पारे ।
“त्यो लक्ष्य प्राप्तिको यात्रामा हामी छौं, र यसको अगुवाइ प्रेस चौतारीले नै गर्नुपर्छ । नेपाली पत्रकारिताको दिशा-निर्देशन गर्ने क्षमता र योग्यता हामीसँग छ, र यसलाई निरन्तरता दिनेछौं,” उनले जोड दिए ।