धनगढी : कैलाली कारागारका जेलर फेरिएका छन् । जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको हो ।
भुसाल हिजो दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
शुक्रबार राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो । सो झडपको क्रममा ४७ जना घाइते भएका थिए । शनिबार दिउँसो पनि कारागाराको अवस्था असामान्य बनेको थियो ।
कारागारभित्र रहेका कैदीहरूले केहीबेर कारागार नै नियन्त्रणमा लिएका थिए भने अवस्था सामान्य बनाउन प्रहरीले हम्मे हम्मे भएको थियो । यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन भएको छ ।
उक्त समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ । यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री रमेश लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।
एक जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।