२६ वर्षको सेवायात्रामा प्रवेश, १४७ जनै संस्कार—पण्डित गणेशप्रसाद पन्तको जातीय विभेदविरुद्धको धर्मयुद्ध
अत्तरिया : जातीय, वर्गीय र धार्मिक विभेदविरुद्ध दृढ अडान लिँदै दलित समुदायका लागि निरन्तर धार्मिक सेवा गर्दै आएका पञ्चाङ्गकार तथा ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्त आजदेखि आफ्नो सेवायात्राको २६ औँ वर्षमा प्रवेश गरेका छन्।
बैतडीको खोडपे, जसुलीखाल निवासी पन्तले विगत २५ वर्षदेखि वैदिक परम्पराअनुसार कुनै भेदभाव नगरी हजारौँ धार्मिक अनुष्ठान सम्पन्न गरिसकेका छन्। जन्मदेखि मृत्युसम्म गरिने सम्पूर्ण धार्मिक कर्मकाण्ड—श्राद्ध, नामकरण, व्रतबन्ध, विवाह, अन्नप्राशन, मृत्यु संस्कार, ग्रहशान्ति, सत्यनारायण पूजा, हवन, रामायण पाठ लगायत—उहाँले दलित समुदायलाई विशेष प्राथमिकतासहित सम्पन्न गर्दै आएका छन्।
अहिलेसम्म उहाँले ३११ श्राद्ध, १२०० नामकरण, ३०० अन्नप्राशन, ५२ मृत्यु संस्कार, ४७ विवाह तथा ११७ सत्यनारायण पूजाहरू सम्पन्न गरिसक्नुभएको छ। नेपालका विभिन्न जिल्लासहित भारतको उत्तराखण्ड, उत्तर प्रदेश, दिल्ली, हरियाणा र बिहारका दलित बस्तीहरूमा पुगेर उहाँले समावेशी वैदिक परम्परा अनुरूप धार्मिक सेवा प्रदान गर्नुभएको छ। पण्डित पन्तका शब्दमा, “धर्म कुनै जात वा वर्गको मात्रै होइन, यो सबैको लागि हो।”
हालै पोखरामा आयोजित ३ दिने जातीय विभेदविरुद्धको गोष्ठीमा ३७५ जना सहभागी र १,१७५ जनाको उपस्थितिमा महारुद्राभिषेक, नवचण्डी पाठ र सामूहिक हवन सम्पन्न भएको थियो, जसले उहाँको समावेशी दृष्टिकोणलाई प्रत्यक्ष प्रमाणित ग¥यो। नेपाल सरकारको सहयोगमा बैतडीमा आयोजना गरिएको सातदिने योग शिविर र समावेशी हवनात्मक यज्ञ पनि उहाँकै अगुवाइमा सम्पन्न भएको हो।
बाँकी धेरै कार्यक्रमहरू उहाँले आफ्नै खर्च र पहलमा सञ्चालन गर्दै आएका छन्। दलित समुदायले उहाँलाई “दोस्रो भीमदत्त” को सम्मान दिएको छ, जसले उहाँको सामाजिक न्यायप्रतिको अटल प्रतिबद्धता झल्काउँछ। उहाँका प्रेरणादायी कार्यहरू देश–विदेशका अनलाइन तथा पत्रपत्रिकामा निरन्तर प्रकाशित भइरहेका छन्।
