धनगढी : अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन) धनगढी कैलालीले हरेक वर्ष जस्तै यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व पनि भव्य रूपमा मनाउने तयारी गरेको छ । यही साउन ३१ गते (शनिबार) धनगढीको सौराइ स्क्वायरमा कार्यक्रम आयोजना हुने इस्कोन धनगढीका अध्यक्ष हलधर निताई दासले बताएका छन् ।
कार्यक्रम अन्तर्गत इस्कोन मन्दिरमा बिहान देखि नै मङ्गल आरती, श्रीमद्भागवतको कथा वाचन, हरे कृष्ण महामन्त्रको जप तथा क्रितन हुने छ,भने मुख्य कार्यक्रम धनगढीको सौराइ स्क्वायर हलमा दिउँसो २ बजे देखि राति ९ बजे सम्म हरिनाम संस्कृतन, श्रीकृष्ण लिला कथा,सांस्कृतिक नृत्य,श्रीकृष्ण जन्म लिला, दिपदान र अभिषेकको कार्यक्रम अध्यक्ष दासले बताएका छन् ।
यस अवसरमा स्थानीय तथा बाहिरी जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । भक्तजनका लागि प्रसाद वितरणको व्यवस्था पनि गरिएको छ । कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन स्वयमसेवक टोली, सुरक्षा व्यवस्था तथा आवश्यक तयारी पूरा गरिएको आयोजकले जानकारी दिएको छ ।
मानव समाजमा व्यवस्थित रूपले आध्यात्मिक ज्ञान वितरण गर्नु र सम्पूर्ण जनताहरूलाई आध्यात्मिक जीवन शैलीबारे प्रशिक्षण दिनु इस्कोनको उदेश्य रहेको छ । जसद्वारा जीवनको मूल्य र मान्यतामा आएको असन्तुलन समाप्त हुनेछ र विश्वमा वास्तविक एकता तथा शान्ति कायम हुनेछ ।