बाजुरा : बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा बुधवार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका–१ बर्कुका २७ वर्षीय पदमबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए।
उनका अनुसार सोही गाउँपालिकाको जोरु लेकबाट पिलुचौरका लागि स्याउ लिएर आउने क्रममा पिलुचौर साप्पाटा सडकको बर्कुबाट ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। सोही गाउँपालिका–४ बस्ने २४ वर्षीय रविन्द्र नाथले चलाएको भे ००१ त ०४८१ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा परी बुढाको मृत्यु भएको छ भने ३५ वर्षीय लोकेन्द्र रोकाया घाइते भएका छन्। घाइते रोकायाको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। दुर्घटनामा परी घाइते भएका रोकायाको टाउको र ढाडमा चोट लागेको छ।
चालक र सहचालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ट्र्याक्टर सडकबाट करिब ३५० मिटर तल खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।