अत्तरिया : कैलालीको अत्तरियामा एचएफसी चिकेन रेष्टुरेन्ट सञ्चालनमा आएको छ । अत्तरियाका पुराना कुखुरा व्यवसायी हेमराज नौन्यालले अत्तरियास्थित कृष्ण मार्केट भित्र सो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन ।
करिब डेढ करोड हाराहारीको लागतमा सञ्चालनमा ल्याईएको सो रेष्टुरेन्टमा अत्तरिया क्षेत्रमै पहिलो पटक केजीका हिसाबले कुखुराका विभिन्न परिकारहरु खान सकिने सञ्चालक नौन्यालले बताए । उनले अत्तरियामा परिवारसहित बस्न मिल्ने रेष्टुरेन्टहरुको अभाव देखेर र ग्राहकहरुलाई केही फरक दिनुपर्छ भन्ने उद्देश्य लिएर आफूले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए ।
‘यो क्षेत्रमा फ्यामिली सहित बस्न मिल्ने रेष्टुरेन्टको अभाव छ, धेरै जसो मान्छेहरु धनगढी जानुपर्ने अवस्था छ’ उनले भने ‘त्यसैको परिपुर्ति गर्नका लागि र ग्राहकहरुलाई केही फरक दिनका लागि हामीले यो रेष्टुरेन्टको परिकल्पना गरेका हौ ।’ उनले आफ्नो कुखुराकै व्यवसाय समेत रहेकाले कुखुरालाई नै ब्रान्डिङका रुपमा अघि बढाएर आफ्नो ब्रान्डिङ गर्ने उद्देश्य रहेको बताए ।
उनले कुखुराका परिकारहरु सस्तो सुलभ रुपमा ग्राहकहरुलाई दिईने समेत बताए । ‘हामीले रेष्टुरेन्ट आर्कषक बनाएको भएपनि हेर्दा उच्चस्तरिय तर सुपथ मुल्यमा केजी सिस्टमको तरिकाले दिईनेछ’ उनले भने । सञ्चालक नौन्यालले रेष्टुरेन्टको मुख्य आर्कषणका रुपमा कुखुराको अचार रहेको बताए ।
‘यहाँको मुख्य परिकार कुखुराको अचार हो, जुन बुवाले करिब २५ वर्ष पहिलोखी नै बनाउनुहुन्थ्यो’ उनले भने ‘पहिला सो अचार अर्डर अनुसार बनाईन्थ्यो भने अब रेष्टुरेन्टमार्फत अघि बढाउन थालेका छौ ।’ रेष्टुरेन्टमा कुखुराको अचारका साथै चिकेन ससेज, चिकेन तन्दुरी, चिकेन क्रन्ची, चिकेन रोष्ट लगायतका कुखुराका परिकारहरु पनि पाईने उनले बताए ।
त्यसका साथै अन्य विभिन्न नास्ताका परिकारहरु रेष्टुरेन्टमा उपलब्ध रहने सञ्चालक नौन्यालको भनाई छ । उनले अत्तरिया क्षेत्रमा रेष्टुरेन्ट व्यवसायका लागि राम्रो बजार भएपनि भनेअनुसारको सेवा पाउन नसकेका कारण ग्राहकहरु धनगढी तिर गैरहेको अवस्था रहेको बताए । उनले एचएफसी रेष्टुरेन्टले ग्राहकहरुको धनगढी जानुपर्ने बाध्यतालाई न्यूनिकरण गर्ने विश्वास लिएको पनि बताए । यस्तै उक्त रेष्टुरेन्टसँगै पार्टी प्यालेस पनि सुरु गरेको छ । करिब २०० जना जती अट्न सक्ने सो पार्टी प्यालेस थियटर मोडलमा सञ्चालन गरिएको नौन्यालले बताए ।
एसीयुक्त सो पार्टी प्यालेसमा क्याटरिङको सुविधा पनि रहेको उनले बताए । सोमबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले रिबन काटेर सो रेष्टुरेन्टको उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै उनले गोदावरी नगरक्षेत्रमा ठुलो लगानीमा रेष्टुरेन्टहरु खुल्नु नगरको लागि राम्रो भएको बताए । उनले आर्कषक र व्यवस्थीत तरिकाले सञ्चालनमा ल्याईएको सो रेष्टुरेन्टले आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई भित्र्याउने अपेक्षा लिएको बताए ।
नगरक्षेत्रभित्र भएकाले मात्रै नभई गोदावरी क्षेत्रमा रोजगारी सृजना समेत गरेकाले नगरबाट गर्न सकिने सहयोग आफूले गर्ने नगरप्रमुख भट्टको भनाई छ । उनले गौरा र तिजलाई लक्षित गरेर होटल व्यवसाय सञ्चालन गरेको भन्दै सफलताको शुभकामना दिए ।