अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-८ मा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लि. को कृषि उपज संकलन केन्द्रको उद्घाटन गरिएको छ । मंगलबार एक औपचारिक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले समुद्घाटन गरे ।
सहकारीकी अध्यक्ष भावना खड्काको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बमले आफ्नो प्रयासले सानै भएपनि सहकारीको संकलन केन्द्र स्थापनाका लागि बजेट विनियोजन भएको बताए । उनले सो नासोबाट ठुलो संरचना निर्माण गरेको भन्दै खुसी व्यक्त गरे । सो अधुरो संरचनालाई पुर्णता दिने या अन्य केही सहयोग गर्ने कुरामा आफू कटिबद्ध रहेको उनले बताए । उनले आफूले सकिन्छ भने दुई ओटै नभए सहकारीका सदस्यहरुको चाहना बमोजिम कुनै एउटा माग भने पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । राज्यमन्त्री बमले चालु आर्थिक वर्षमा सहकारीमा लगानी नगर्ने प्रदेश सरकारले निर्णय गरेकाले यसपटक सहयोग गर्न नसकेको भन्दै आगामी बजेटमा आफूले सहयोग गर्ने घोषणा गरे ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद तुलसी देवकोटाले सहकारीलाई प्रविधि र उत्पादन सँग जोडेर लैजान आवश्यक रहेको बताईन । कार्यक्रमकी विशिष्ठ अतिथि समेत रहेकी उनले सहकारीमा आवद्ध महिलाहरुले व्यवसायी बन्न सके आत्मनिर्भर बन्न सहज हुने बताईन । उनले विगतमा महिला विकासका विषयमा नकारात्मक टिकाटीप्पणी हुने गरेकोमा अहिले सो मार्फत नै महिलाहरु एकजुट र आत्मनिर्भर बनिरहेको देख्दा खुसी लागेको बताईन ।
आर्थिक मामिला राज्यमन्त्री बमको सक्रियता र पहलमा कृषि ज्ञान केन्द्र कैलालीबाट विनियोजन भएको १५ लाख रुपैया बजेटमा उक्त संकलन केन्द्र भवन निर्माण गरिएको संस्थाकी अध्यक्ष भावना खड्काले बताईन। विगतमा आफूहरुले कृषि जन्य वस्तुहरु संकलन गर्ने भवन नहुँदा समस्या हुने गरेकोमा अब सहज हुने बताईन । ‘हामीलाई संकलन केन्द्र आवश्यक छ भनेर माननिय आर्थिक मामिला राज्यमन्त्री ज्यूलाई अनुरोध गरेका थियौ’ उनले भनिन् ‘उहाँले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, उनकै कारण आज हामीले यो भवन पाएका छौ, उहाँलाई धन्यवाद दिन चाहन्छौ ।’ उनले सो भवनमा संस्थाले उत्पादन गरेको कृषिजन्य वस्तुहरु मात्रै नभई सदस्यहरुले उत्पादन गरेका वस्तुहरु पनि खरिद गरेर राख्न सकिने बताईन ।
यसैबिच संस्थाले सहकारी शिक्षा तथा तीज विशेष कार्यक्रम पनि आयोजना गरेको छ । संस्थाको कृषि उपज संकलन केन्द्र भवनको उद्घाटन समारोहकै अवसरमा सहकारी शिक्षा तथा तीज विशेष कार्यक्रम आयोजना गरिएको हो ।