शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ।

युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ६० लाख बजेट विनियोजन गरिएको छ। नगरपालिकाका प्रत्येक वडामा स्थानीय स्रोत र सम्भावनालाई ध्यानमा राख्दै घरेलु तथा लघु उद्योग स्थापना गरिने योजना रहेको छ।

उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीका अनुसार यस कार्यक्रमअन्तर्गत युवालाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाइनेछ र व्यावसायिक क्षेत्रमा संलग्न गराइनेछ। आवश्यक पूँजीको व्यवस्था गर्न बैँक तथा वित्तीय संस्थासँग समन्वय कार्य गरिने उनले बताए। “प्रत्येक वडालाई स्थानीय सम्भावना र स्रोतअनुसार घरेलु तथा साना उद्योग स्थापना र सञ्चालनका लागि प्रस्ताव पठाउन पत्राचार गर्ने कार्य भइरहेको छ”, उनले भने, “वडाबाट उद्योग छनोट भएपछि त्यही आधारमा कार्यक्रम अघि बढाइने बढाउँछौं।”

यसरी स्थापना हुने उद्योगमा मागको आधारमा अनुदान र प्रविधि सहयोग उपलब्ध गराइने योजना रहेको उनले उल्लेख गरे। चौधरीले भने, “यस कार्यबाट युवाले नगरभित्रै रोजगारी पाउनेछन् र व्यावसायिक सीप विकास गर्ने अवसर प्रदान हुन्छ, यसले विदेश पलायन कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।”

नगरपालिकाका अनुसार १२ वटै वडामा सम्भावना भए बमोजिम उद्योग स्थापना गरी युवालाई दीर्घकालीन रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ। कृषि, हस्तकला, पशुपालन, बेतबाँस, लघु उत्पादन र स्थानीय स्रोतमा आधारित उद्योगलाई प्राथमिकतामा राखिएको छ। स्थानीय युवा चेतराम चौधरीले कार्यक्रम सञ्चालनले गाउँमै रोजगारी र विकासका अवसर ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

Deep Jyoti Pustak psl
Loading...