अत्तरिया : स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गेटा अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटन गरेका छन् । मन्त्री पौडेलले विरोधका बिच बिहीबार अस्पतालमा इमर्जेन्सी सेवाको उद्घाटन गरेका हुन ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत रहने अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटन पश्चात् बोल्दै मन्त्री पौडेलले २० शय्याको इमर्जेन्सी सेवा सञ्चालन हुनु ठुलो कुरा भएको बताए ।
उनले आफ्नो कार्यकालमा इमर्जेन्सी सेवा सुरु भएकाले त्यसको उद्घाटन गर्ने कुरालाई विवादित बनाउन आवश्यक नरहेको बताए । उनले गेटा अस्पतालमा पर्याप्त इक्युवमेन्ट भए पनि अझै ५० प्रतिशत थन्किएको बताउँदै ती सबै सञ्चालनमा ल्याउन थप जनशक्ति थप गर्न आवश्यक रहेको बताए ।
उनले अघिल्लो आर्थिक वर्षमै ३ सय बेडको अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति विवरण अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेकाले यसै वर्ष भित्र थन्किएका सामाग्री प्रयोगमा आउने बताए उनले गेटा अस्पताललाई पहिलो प्राथमिकतामा राखेको बताउँदै चालु आर्थिक वर्ष भित्र अस्पताललाई ३ सय शय्याको विस्तार गरेर आगामी शैक्षिक सत्र देखि एमबिबिएस पठाई सुचारु गरिने बताए ।
मन्त्री पौडेलले इमर्जेन्सी सेवाको उद्घाटन गरिरहँदा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले भने मूल गेटमा विरोध जारी राखेका थिए । सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे आगोले अघिल्लो पटक आउँदा नै मन्त्री पौडेलले ३ सय शय्याको अस्पताल चलाउने बाचा गरे पनि अहिले आउँदा आफैले बोलेको कुरा पुरा नगरी इमर्जेन्सी सेवाको मात्रै उद्घाटन गरेपछि विरोध गरिएको बताए ।
उनले विरोधका बिच मन्त्री पौडेलले ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर उद्घाटन गरेको बताए । उनले ३ शय्याको अस्पताल उद्घाटन गर्नु भने पनि इमर्जेन्सी सेवाको उद्घाटन गरेर सुदूरपश्चिम जनताको अपमान गरेको बताए ।
गेटामा बुधवार दिउँसो नै इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रम रहे पनि विरोधपछि स्थगित गरिएको थियो । त्यसपछि उद्घाटन कार्यक्रम स्थगित गरिएको अस्पताल प्रशासनले बताएपनि आज पुनः कार्यक्रम तय गरेर उद्घाटन गरिएको हो ।