कञ्चनपुर : नेपालसँग सीमा जोडिएको भारत उत्तराखण्डका विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण फैलिएसँगै नेपालमा पनि जोखिम बढेको छ ।
भारतबाट अवैध रुपमा कुखुराको आयात हुने भएकाले संक्रमणको जोखिम रहेको सरोकारवालाहरु बताउँछन् । ‘भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थ नेपाल भित्रिन सक्ने भएकाले संक्रमणको जोखिम देखिन्छ,’ सुदूरपश्चिम पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. पानसिंह ठगुन्नाले भने, ‘यस क्षेत्रका कुखुरा पालक कृषकहरुले सर्तकता अपनाउनुपर्ने देखिन्छ ।’
उनले संक्रमण भित्रिन नदिन नाकामा रोकथामदेखि चेकजाँमा आवश्यक कडाइ गर्नुपर्ने बताए । ‘खासगरी सीमा क्षेत्रमा बढी सतर्कता अपनाउनुपर्ने हुन्छ,’ डा.ठगुन्नाले भने, ‘लुकाइछिपाइ आउने कुखुरा र कुखुराजन्य पदार्थमा रोक लगाउनुपर्छ ।’
उनले कैलाली र कञ्चनपुरका विभिन्न नाकाबाट उक्त सामाग्री आउन सक्ने बताए । उद्यमसिंहनगर कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकासँगै सीमा जोडिएको क्षेत्र हो । दुवैतर्फका बस्तीहरु एक आपसमा जोडिएका कारण पनि उक्त क्षेत्रमा बढी जोखिम हुन सक्ने देखिएको छ ।