उच्च बन अधिकृत सरुवा कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले दसौँ तहका वन अधिकृतको समय नपुगेरै सरुवा गरेपछि त्यो निर्णय विवादित भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको साउन ३० गतेको निर्णय अनुसार दसौँ तहका तीन जना वन अधिकृतलाई समय नपुगेरै सरुवा गरेको हो ।

प्रदेश सरकारले डिभिजन वन कार्यालय धनगढीका प्रमुख कृष्णदत्त भट्ट, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेल र डिभिजन वन कार्यालय कञ्चचनपुरका प्रमुख रामबिचारी ठाकुरलाई समय नपुगेरै सरुवा गरेको छ। यी तीनै जना दसौँ तहका वन अधिकृत हुन्।

नौ महिनाअघि मात्र डिभिजन वन कार्यालय धनगढीको प्रमुखको रुपमा पठाइएका कृष्णदत्त भट्टलाई डिभिजन वन कार्यालय पहलमानपुरमा सरुवा गरिएको छ भने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामचन्द्र कँडेललाई डिभिजन वन कार्यालय कञ्चनपुर पठाइएको छ। यसैगरी डिभिजन वन कार्यालय कञ्चनपुरमा कार्यरत रामबिचारी ठाकुरलाई डिभिजन वन कार्यालय धनगढी सरुवा गरिएको छ ।

यी ठाकुरलाई केही महिना अघि मात्र कञ्चनपुरमा कालो मोसो समेत दलिएको थियो । समय अगावै विना कारण सरुवा गरेपछि कृष्णदत्त भट्ट र रामचन्द्र कँडेलले उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए । उच्च अदालत दिपायलले भदौ ५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सुदूरपश्चिम प्रदेशका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरी प्रदेश सरकारको साउन ३० गतेको सरुवा निर्णय कार्यान्वयन नगर्न भनेको छ ।

अल्पकालीन अन्तरिम आदेशमा भनिएको छ– ‘मिति २०८२/४/३० गतेको सरुवा निर्णय कार्यान्वयन नगर्नू, अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेमा दुवै पक्षसँग छलफलका लागि भदौ २० गते पेशी तोकिएको छ, सो दिन बिपक्षिले पनि सम्पुर्ण कागजात सहित उपस्थित हुनू।’

नियम अनुसार निजामती कर्मचारी नवौँ र दसौँ तहकालाई कम्तिमा २ वर्षसम्म एक ठाउँबाट अर्काे ठाउँ सरुवा गर्न पाइने छैन । अधिवक्ता गम्भीरसिंह ऐरका अनुसार २ वर्षअगावै सरुवा गर्नुपरेमा कि ती कर्मचारी पुरष्कृत भएको हुनुप¥यो, कि कारवाही भएको हुनुप¥यो या कायम रहेको दरवन्दी नै खारेज भएको हुनुप¥यो नभए सरुवा गर्न पाइँदैन। तर अहिले गरिएको सरुवामा यी तीनवटै कुनै अवस्था लागू भएको छैन।

स्रोतका अनुसार डिभिजन वन कार्यालय कञ्चनपुरबाट रामबिचारी ठाकुरलाई डिभिजन वन कार्यालय धनगढीमा ल्याउनका लागि नियम विपरीत सरुवा गरिएको हो । डिभिजन वन कार्यालय धनगढी मातहतमा स्रोत राम्रो रहेको चर्चा चल्ने गरेको छ ।

अहिले वन क्षेत्र हेर्ने विभागीय मन्त्रालय वन उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री कमलबहादुर शाहले नै सम्हालेका छन् । यस मन्त्रालयका मन्त्री रामेश्वर चौधरीलाई झण्डै एक महिनाअघि मात्र मुख्यमन्त्री शाहले बर्खास्त गरेर उक्त मन्त्रालयको जिम्मेवारी आफैलाई राखेका छन् ।

Dhn_Laingik Hinsa 2082
Loading...