बैतडी : वर्षासँगै आएको पहिरोले बैतडीको पुर्चौडी नगरपालिका –४ चनकिल्लीको एक घरमा क्षति पुगेको छ ।
घर माथिबाट पहिरो आएपछि स्थानीय हिमाल बोहराको घरमा क्षति पुगेको हो । शुक्रबार राति १२ बजेतिर घरमाथिबाट खसेको पहिराले बोहराको तीन तले ९ कोठे घर पूर्ण रुपमा क्षति भएको भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए ।
उनले पहिरो खस्न लागेको थाहा भएपछि घरका मानिस बाहिर निस्केकाले मानवीय क्षति नभएको उनले बताए । बोहराको गोठमा बाँधेका एक भैँसी, एक पाडो र एक बाख्रो पहिरोमा पुरिएको प्रहरी निरीक्षक बडूले बताए ।
क्षति पुगेको घरभित्रका अन्नपात, लत्ताकपडा लगायत सबै सामग्री पुरिएका छन् । घर पहिरोले पुरेपछि बोहराको ११ जनाको परिवार दाइ मोतीराम बोहराको घरमा बसिरहेका छन् ।