गोदावरी-८ स्याउलेमा भदौ १६ गते देखि गौरा पर्व विशेष मेला लाग्ने

अत्तरिया : कैलालीको स्याउलेमा गौरा पर्व विशेष मेला लाग्ने भएको छ । गोदावरी नगरपालिका वडा नम्बर-८ स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा गौरा पर्व मेला लाग्ने भएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही भदौ १६ गते देखि २१ गतेसम्म मेला लाग्ने जानकारी दिईएको छ । सुदूरपश्चिमको विशेष पर्व गौराको संरक्षण र सम्वद्धन गर्नुका साथै मनोरञ्जन तथा स्थानीय भेषभुसा र उत्पादनको प्रदर्शन गर्ने गरी मेला आयोजना गर्न लागिएको मेला संयोजक लक्ष्मी विनाडीले बताइन् । उनले मेलामा विभिन्न ठाउँका चर्चित देउडा कलाकारहरूको साङ्गीतिक एवम् देउडा प्रस्तुति सँगै झाँकी प्रदर्शनी गरिने उनले बताइन् ।

१६ गते देखि सुरु हुने मेलामा १७ गते सावित्री धामी र उज्ज्वल सिंह साउँद, १८ गते ममता धामी र कृष्ण धामी, १९ गते टिका सानु र दीपक रिमाल तथा २० गते पदम जोशी र तुलसी बुढाको प्रस्तुति रहने बिनाडीले बताएकी छिन् । मेलाको पहिलो दिन र अन्तिम दिन भने स्थानीय कलाकारलाई बोलाइने जनाइएको छ । जसअन्तर्गत कुम्भराज भट्ट, कलसी विक लगायतका कलाकारको प्रस्तुति रहने मेला संयोजक बिनाडीले जानकारी दिइन् । स्याउले बजार व्यवस्थापन समितिका साथै साइपाल र शिवशक्ति युवा क्लबको सहयोगमा मेला लाग्ने उनले बताइन् ।

मेलामा विभिन्न सङ्घ संस्थाका साथै सामुदायिक वनहरूले आथिर्क सहयोग गरेका छन् । सुदूरपश्चिमको विशेष मानिने संस्कृति जर्गेना गर्नुका साथै मनोरञ्जन तथा स्थानीय भेषभुसा र उत्पादनको प्रदर्शन गर्ने उदेश्यले गौरा पर्व विशेष मेलाको आयोजना गर्न लागिएको समितिले जनाएको छ । मेला सम्पन्न गर्न विभिन्न समिति तथा उप समितिहरू बनाइएको छ ।

यस्तै गौरा मेला आयोजक समितिका सल्लाहकार नरेश अधिकारीले सुदूरपश्चिम गौरा पर्व मेला सफल पार्न सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

Loading...