डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका-५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर जिपमा सवार नवदुर्गा-५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए ।
दुर्घटनामा जिप चालकसहित छ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर जिप चालक नवदुर्गा-५, का ३५ वर्षीय रामबहादुर साउद, सोही ठाउँका १८ वर्षीया सुशीला बिक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश बिक घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि डडेल्धुरा र धनगढी पठाइएको प्रहरीले जनाएको छ । पानी परेका कारण कच्ची बाटो चिप्लो भएर जिप सडकबाट खसेको हुनसक्ने अनुमान गरिएको छ ।