कैलालीको गोदावरी नगरपालिकाद्वारा आफ्नै गौशालामा गाईबस्तु राख्ने काम सुरु

धनगढी : तराईका जिल्लामा वर्षौँदेखि समस्या बनेको छाडा पशु चौपायाको व्यवस्थापनका लागि कैलालीको गोदावरी नगरपालिकाले आजदेखि आफ्नै गौशालामा गाईबस्तु राख्ने काम सुरु गरेको छ।

नगरपालिकाको वडा नम्बर ७ स्थित गोलादेवी सामुदायिक वनको बीचमा मन्दिर परिसरमा व्यवस्थित रूपमा निर्माण गरिएको गौशालामा आजदेखि पुनः गाईबस्तु व्यवस्थापनको काम अघि बढाइएको छ।

बिहिवार बिहानैदेखि नगरपालिकाका नगर प्रहरी, कर्मचारी, गौशाला व्यवस्थापन टोली र स्थानीयवासीहरूको सक्रिय सहभागितामा सडकमा हिँडिरहेका पशु चौपायलाई सुरक्षित रूपमा गौशालामा लैजाने काम सम्पन्न गरिएको छ।

पहिलो चरणमा अत्तरिया बसपार्क, गोदावरी रोड, अत्तरिया चोक, चौकी डाडा सडकखण्ड र धनगढी लाइनको सडकमार्गबाट २ सय भन्दा बढी गाईबस्तुको ब्यावस्थापन गरेको नगर प्रहरी प्रमुख सन्धु चौधरीले बताएका छन्।

छाडा पशु चौपायाका कारण सडक दुर्घटना, कृषकको बालीनालीमा क्षति, र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयवासीले वर्षौँदेखि भोग्दै आएका थिए। सुदूरपश्चिमको प्रदेश राजधानीको रुपमा चिनिएको गोदावरी नगरपालिकाले प्रदेश सरकारसँग सहकार्य गर्दै व्यवस्थित गौशाला निर्माण गरेको हो।

नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार, ’यो गौशाला निर्माणको दुई वर्षदेखि क्रमिक रूपमा अन्य संरचना निर्माण र गाईबस्तु व्यवस्थापन गर्दै जाने गरी दिर्घकालिन योजना रहेको छ।’

गौशालाले गाईको संरक्षणसँगै ग्रामीण कृषि क्षेत्रमा मल–मुत्रको आपूर्ति, रोजगार सिर्जना, र नगरभित्र छाडा पशु व्यवस्थापनलाई व्यवस्थित बनाउने महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। यस पहलले नगरपालिकाको जनहितमुखी र दीगो विकासको दृष्टिकोणलाई उजागर गरेको छ।

Dhn_Laingik Hinsa 2082
Loading...