धनगढीः कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्लाको जानकी गाउँपालिका-४ रामजानकी मन्दिर नजिक सोही गाउँपालिका-७ मक्री बस्ने ३६ वर्षीय तुल्सीराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१-००१ क २७८६ नम्बरको रेन्बो एकेडेमी स्कुलको बसको ठक्करबाट जोशीपुर गाउँपालिका-५ बनकट्टा बस्ने २३ वर्षीय सागर डगौराको मृत्यु भएको हो ।
सागरले चलाएको सुदूरपश्चिम प्रदेश ०१-००८ प ५६२८ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालक सागर गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि सेवा नर्सिङ होम नेपालगंज, बाँके लगिएकोमा बिहीवार चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने १४ वर्षीय अनिल चौधरी घाइते भएका छन् । अनिलको टीकापुर अस्पताल टीकापुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
बस र बस चालक इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीको नियन्त्रणमा रहेको र सो सम्बन्धमा अनुसन्धान भईरहेको जनाइएको छ ।