सुदूरपश्चिममा धार्मिक पर्यटनमा लगानी भित्र्याउन सहयोग गर्ने हिन्दू इकोनोमी फोरमका प्रतिनिधिहरूको प्रतिवद्धता
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहसहितको टोलीलाई हिन्दू इकोनोमी फोरमका प्रतिनिधिहरूले सुदूरपश्चिमको धार्मिक पर्यटनमा लगानी भित्र्याउन भूमिका खेल्ने बताएका छन् ।
शनिबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा हिन्दू इकोनोमी फोरमका प्रतिनिधिहरूले विश्व हिन्दू इकोनोमिक्समार्फत सुदूरपश्चिम प्रदेशका धार्मिक पर्यटन क्षेत्रमा लगानी ल्याउन पहल गर्ने बताएका हुन् ।
‘हामी विश्वभर रहेका हिन्दूहरूमार्फत नेपालमा लगानी ल्याउने विषयमा छलफल गरिरहेका छौँ’, नेपाल संयोजक सुरज बैद्यले भने, ‘सुदूरपश्चिम प्रदेशमा पनि धेरै धार्मिक स्थल छन्।
त्यहाँ लगानी भित्र्याउने विषयमा पनि हामी छलफल गर्छौँ ।’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका वैद्यले सुदूरपश्चिम प्रदेशमा यसअघि पनि सम्भावनाबारे गरिएको अध्ययनका निष्कर्ष प्रस्तुत गरेका थिए ।
उनले नीतिगत कारण लगानी भित्र्याउन समस्या भएको भन्दै लगानीमैत्री नीति बनाउन मुख्यमन्त्री शाहलाई सुझाव दिएका थिए । लगानी सम्मेलनमा प्रतिबद्धता अनुसारको लगानी नआएको भन्दै उनले विशेष क्षेत्रलाई प्राथमिकतामा राखेर लगानीकर्ताहरूलाई आह्वान गर्नुपर्ने बताएका थिए ।
पूर्व राजदूत समेत रहेका हिन्दु इकोनोमिक्स फोरमका महासचिव महेश दाहालले विश्वका हिन्दूहरूको चासो नेपालतर्फ रहेको भन्दै उनीहरू मार्फत लगानी ल्याउन सकिने बताए । सुदूरपश्चिममा हिन्दूहरूको ठूलो आस्था र केन्द्र रहेको भन्दै धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिन सकिने उनको भनाइ थियो ।
‘सुदूरपश्चिममा लगानी गर्न सहज छ भन्ने वातावरण बनाउनुपर्छ’, उनले भने, ‘मुख्यमन्त्रीज्यू आफैं लगानीका लागि लागिरहनुभएको छ, हामी उहाँलाई साथ दिन तयार छौँ ।’ उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले पनि सुदूरपश्चिममा पर्याप्त सम्भावना रहेको भन्दै नीति क्षेत्र त्यहाँ लगानी गर्न उत्साहित भएको बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्रीसँग विभिन्न नाकाहरूलाई व्यावसायिक नाका बनाउनुपर्ने विषयमा कुरा गर्नुपर्ने सुझावसमेत उनले दिए । पूर्वगभर्नर चिरञ्जीवी नेपालले पनि सुदूरपश्चिमको विकास र लगानीका विषयमा आफूहरू गम्भीर रहेको भन्दै संसारभरिका हिन्दूहरूलाई सुदूरपश्चिमको सम्भावनामा लगानी गर्न आग्रह गर्ने बताए ।
उनले उत्तर प्रदेश र उत्तराखण्डका लगानीकर्ताहरूसम्म मात्र पुग्दा पनि सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन सफल हुने दाबी गरे । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले लगानीकर्ताहरूको सुझावअनुसार लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए ।
उनले स्वदेशी तथा विदेशी सबै लगानीकर्तालाई सुदूरपश्चिममा स्वागत गर्न आफूहरू आतुर रहेको बताए । छलफलमा सुदूरपश्चिम प्रदेशको सम्भावना र अवस्थाबारे नीति तथा प्रदेश योजना आयोगका सदस्य नृप सुनारले कार्यपत्र प्रस्तुत गरेका थिए ।