बाजुरा : जिल्ला कारागार बाजुरामा क्षमताभन्दा बढी कैदीहरु राखिएको छ ।
झण्डै ४५ वर्ष अघि निर्माण भएको बाजुरा कारागारमा क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दीहरु राखिएको हो । २५ जनाको क्षमता भएको सो कारागारमा हाल ६५ जना राखिएको छ ।
४५ वर्ष सम्म पनि क्षमता विस्तार नगरिदा अहिले कारागारमा क्षमताभन्दा झण्डै तेब्बर बढी कैदीबन्दीहरु राख्नुपर्ने अवस्था आएको छ । कैदीको संख्या बढ्दै जाँदा व्यवस्थापनमा सकस भएको कारागारका कर्मचारीहरुले बताएका छन ।
कारागारका प्रशासक अनिकुमार तिवारीले २५ जनाको क्षमता भएको कारागारमा ६५ जना राख्नुपरेको बताए । ‘राख्नुपर्ने २५ जना हो तर ६५ जना कैदी राख्दा उनीहरुलाई सुत्न र बस्न निकै समस्या भएको छ ।’
कैदी बन्दीलाई मात्र नभएर क्वार्टर नहुँदा सुरक्षाकर्मीसमेत समस्यामा छन् । प्रशासक तिवारीले नयाँ भवनका लागि टेन्डर भइसकेकाले अब सहज बन्ने विश्वास व्यक्त गरे । उनले भने ‘भवन निर्माणको काम अब सुरु हुँदैछ । नयाँ बन्ने कारागार भवन सय बन्दी राख्ने क्षमताको हुनेछ ।’
