अत्तरिया डीडीसीमा सिडियोको अनुगमन, तत्काल रोकिएको दुधको रकम भुक्तानी गर्न निर्देशन

अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले अनुगमन गरेका छन् । गत जेठ ८ गते देखि तालाबन्दी भएको अवस्थामा रहेको डीडीसी अत्तरियाको प्रमुख जिल्ला अधिकारी लम्सालले गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराईसहितको उपस्थितिमा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा लम्सालले तालाबन्दीले समस्याको समाधान नहुने हुँदा छलफल गरेर अगाडि बढ्नु पर्ने बताएका थिए । बन्द रहेको डीडीसी कार्यालयको अगाडि सडकमै भएको छलफलका क्रममा सिडिओ लम्सालले कार्यालय प्रमुखलाई तत्काल किसानको दूधको रकम भुक्तानी गर्न निर्देशन दिए । उनले आवश्यक सुरक्षा प्रबन्ध आफूले गर्ने बताउँदै निश्चित समय तोकेर सो समय भित्र भुक्तानी दिने निर्देशन दिएका हुन ।

कार्यालय प्रमुख निरञ्जन भट्टराइले सहकारी सँग छलफल गरेर भुक्तानी गर्न सकिने समय भन्न सकिने बताएका छन् । उनले कार्यालय बन्द भएकाले पुरानो भुक्तानी रोकिएको बताउँदै केही रकम तत्काल दिन सकिने भए पनि बाकी रकम भुक्तानीका लागि सहकारी सँग छलफल गरेर भन्न सकिने बताए । धनगढी उपमहानगरपालिका-१५ मा रहेको कार्यालयबाट गत असार २९ गते देखि नै डीडीसीले प्रशासनिक काम कारबाही सुचारु गरेको हो । कार्यालय प्रमुख निरञ्जन भट्टराइले भने कार्यालय सार्ने, नसार्ने विषय माथिल्लो तहबाटै निर्णय हुने भएकोले आफूलाई यसबारे खासै जानकारी नहुने बताएका छन् ।

त्यस्तै गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले गोदावरीमै डीडीसीका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको भए पनि डीडीसीले धनगढी सार्न खोज्दा समस्या भएको बताए । उनले डीडीसीको विवाद लम्बिँदा किसानको भुक्तानी रोकिएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । कार्यालय प्रमुखको धनगढी नै सार्नुपर्ने ढिपीका कारण समस्या भएको बताउँदै डीडीसी अत्तरियाबाट नसार्ने प्रतिबद्धता गर्ने बित्तिकै सबै समस्या समाधान हुने नगरप्रमुख भट्टले बताएका छन् ।

गत असारमा डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीको टोलीलाई प्रस्ताव गरिएको वैकल्पिक स्थलसमेत प्रमुख जिल्ला अधिकारीलाई स्थलगत अनुगमन गराइएको थियो । धनगढी सार्न खोजिएको भन्दै डीडीसी अत्तरियाको कार्यालयमा सङ्घर्ष समितिले तालाबन्दी गरेको थियो । त्यसपछि गत असार यता डीडीसीले धनगढीस्थित कार्यालयबाटै केहि प्रशासनिक कार्यहरू गर्दै आइरहेको छ ।

डीडीसी अत्तरियाको प्रशासनिक कार्यालयमा जेठ ८ गते तालाबन्दी गरिएको थियो । स्थानीयले डीडीसी धनगढी सार्न नहुने र डीडीसीलाई आवश्यक जग्गा गोदावरी क्षेत्रमै नगरपालिकाले उपलब्ध गराउनु पर्ने माग गरेका थिए । आइतबार पनि डीडीसीलाई स्थानीय तहले उपलब्ध गराउन खोजेको गोदावरी नगरपालिका-४ मा रहेको जग्गाको सिडिओलाई अवलोकन गराइएको थियो । लामो समय देखि डीडीसीको प्रशासनिक कार्यालयमा तालाबन्दी हुँदा भुक्तानीको काम ठप्प भएको छ । जसले गर्दा अहिले किसानहरू मारमा परेका छन् ।

डीडीसीबाट रोकिएको दूधको भुक्तानीका लागि सहजीकरण गरिदिन सिडिओलाई ज्ञापन पत्र

विगत ३ महिनादेखि दुग्ध विकास संस्थान (डीडीसी) अत्तरियामा तालाबन्दी हुँदा भुक्तानी रोकिएको भन्दै दुग्ध सङ्कलन गर्ने सहकारीहरूले सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापन पत्र बुझाएका छन् । आइतबार किसानबाट दूध सङ्कलन गर्दै आएका सहकारी र कृषि फर्महरूले सिडिओ कृष्ण प्रसाद लम्साललाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा किसानहरूले २०८१ माघ देखि नै डीडीसीबाट दूधको भुक्तानी नपाउँदा किसानहरू दूधको भुक्तानी गर्न नसकिएका कारण आन्दोलन हुने अवस्था सृजना भएकाले सहजीकरण गरिदिन आग्रह गरेका छन् । ज्ञापन पत्रमा हाल डीडीसीले प्रशासनिक एवम् आर्थिक कक्ष बन्द भएको कारण रकम दिन नसकिएको बताएकाले त्यसका लागि सहजीकरण गरिदिन सिडिओ समक्ष आग्रह गरिएको छ । ज्ञापन पत्र बुझे लगतै बन्द रहेको डीडीसी कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) पुगेका थिए ।

Loading...