बझाङमा शिक्षकमाथि खुकुरी प्रहार

बझाङ : बझाङ जिल्लाको मस्टा गाउपालिका – १ रनाडा स्थित माइतिबन निम्न माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक धुर्ब बहादुर रोकायामाथि आइतबार राति धारिलो हतियार प्रहार भएको छ।

अज्ञात व्यक्तिहरूले खुकुरी प्रहार गर्दा रोकायाको दायाँ कानको भागमा गम्भीर चोट लागेको हो। जिल्ला अस्पताल बझाङमा प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको परिवारले जनाएको छ। रोकायाको घर खप्तडछान्ना–३ सिप्टिकोटमा पर्छ।

प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले अत्यधिक मदिरा सेवनका कारण शिक्षक आफैं लडेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताएका छन्। तर पीडित परिवारले सामान्य लडाइँले त्यस्तो गम्भीर घाउ नहुने भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

घाइते रोकायाले भने घटनाबारे बयान दिंदै, दुई–तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले आफूलाई दुई हजार रुपैयाँ माग्दा दिन नमानेपछि धारिलो हतियार प्रहार गरी भागेको बताएका छन्।

पछिल्लो समय चैनपुर क्षेत्रमा लागुऔषध दुरुपयोग र मदिराजन्य समस्या बढ्दै गएको भन्दै स्थानीयले यस किसिमका घटनामा संगठित समूहको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्।

Deep Jyoti Pustak psl
Loading...