कैलाली : कैलालीको गोदावरी नगरपालिका– ८ स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखि गौरा पर्व विशेष मेला सुरु भएको छ।
भदौ २१ गतेसम्म चल्ने मेलाको सोमबार सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बमले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बोल्दै बमले गौरा पर्व सुदूरपश्चिमको पहिचान भएकोले जर्गेना गर्नु जरुरी रहेको बताए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका बमले कार्यक्रममा बोल्दै संस्कृति र पहिचान जर्गेना गरे मात्रै व्यक्तिको पनि पहिचान कायम रहने बताए । गौरा पर्व समितिकी संयोजक लक्ष्मी बिनाडीको सभा अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा पूर्व सांसद कैँया चौधरी विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा वर्षाका बाबजुत पनि डेउडा गायकहरु गणेश विष्ट र प्रेमराज पाठकले मन्त्री बमसहित कार्यक्रमका अतिथिहरुलाई डेउडा खेल खेलाएका थिए । मेलामा भोलि १७ गते १ बजेदेखि सावित्री धामी र उज्ज्वल सिंह साउँद, १८ गते ममता धामी र कृष्ण धामी, १९ गते टिका सानु र दीपक रिमाल तथा २० गते पदम जोशी र तुलसी बुढाको प्रस्तुति रहने संयोजक बिनाडीले बताएकी छिन् ।
विश्वनाथ महादेव मन्दिर गौरा पर्व मेला समितिको आयोजना सुरु भएका मेला सम्पन्न गर्न पदमा बोगटीको संयोजकत्वमा उप समिति पनि गठन गरिएको छ ।