कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : मतदाता भेटघाटमा व्यस्त ओझा प्यानल

धनगढी : कैलाली उद्योग वाणिज्य संघको भदौ २८ गते हुने निर्वाचनका लागि मैदानमा उत्रिएको पुष्करराज ओझा नेतृत्वको प्यानल मतदाता भेटघाटमा व्यस्त रहेको छ ।

ओझा नेतृत्वको प्यानलले मतदातालाई आफ्ना एजेण्डा सुनाउँदै मत माग्न थालेको हो । कैलाली उद्योग वाणिज्य संघको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नका लागि ओझा नेतृत्वको पूरै प्यानल धनगढी बजारमा व्यवसायीका घरदैलो तथा व्यापारिक प्रतिष्ठानमा पुग्न थालेका छन् ।

Dhangadhi_Tihar 2083

आफूहरु व्यवसायी साथीहरुसँग मत माग्दै घरदैलो गर्न थालेको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार ओमबहादुर बिष्टले बताए । उनले भने,‘हामी आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमै पुगेका छौँ ।’ मतदातालाई भेट्ने र व्यवसायीक हितका एजेण्डाहरु प्रत्येक पसल तथा व्यापारिक प्रतिष्ठानमा पुगेर मत मागिरहेको अध्यक्ष पदका उम्मेदवार पुष्करराज ओझाले बताए ।

उनले भने, ‘मतदाता भेट्दा उहाँहरु उत्साहित हुनुहुन्छ ।’ आफूले निर्वाचन जितेपछि व्यवसायीको हक र हितका लागि सधै तत्पर रहने बताउँदै उनले भने, ‘उद्योग वाणिज्य संघमा दर्ता हुने व्यवसायीलाई एक लाख रुपैयाँ बराबरको दुर्घटना विमा सुविधा निःशुल्क उपलब्ध गराउने, विपद् वा संकटमा प्रभावित व्यवसायीलाई तत्काल राहत तथा पुनस्र्थापनामा सहयोग गर्ने जस्ता १५ वटा प्रतिवद्धता व्यक्त गर्दछु ।’

कैलाली उद्योग वाणिज्य संघको दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेर काम गरिसकेका ओझा सामाजिक संघसंस्थामा पनि उत्तिकै क्रियाशील छन् । उनी नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका उपाध्यक्ष, सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसन प्रदेश अध्यक्ष, ह्युमानिटी फाउण्डेसन नेपालका उपाध्यक्ष, नेपाली य’वा उद्यमी मञ्चका संस्थापक अध्यक्षसमेत रहेर काम गरिसकेका अनुभवी व्यक्तित्व हुन् ।

उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उपाध्यक्ष (उद्योग) वासुदेव भट्ट, उपाध्यक्ष (एसोसियट) मनोज अग्रवाल, उपाध्यक्ष (वाणिज्य) गगनराज केसी, उपाध्यक्ष (वस्तुगत) भीमराज ओझा (अबु), महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत, सचिवमा कृष्णाकुुमारी बिष्ट, सदस्यहरुमा अजय पाण्डेय, बमबहादुर कुँवर, धु्रवराज दाहाल, कमला भट्टराई, पदमबहादुर सिंह, प्रजापति जोशी (प्रकाश), रेखा बास्तोला, सुरजबहादुर रैका, सुरेश सापकोटा, ई. तर्कराज भट्ट, टेकबहादुर खड्का, अनुप भण्डारी र विन्दु सुनार रहेका छन् ।

Loading...