टीकापुरमा आतङ्क मच्चाउने चितुवा नियन्त्रणमा

टीकापुर : टीकापुर बहुप्राविधिक शिक्षालयमा राति आएर आतङ्क मच्चाउने चितुवालाई बुधवार नियन्त्रणमा लिइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले चितुवालाई ट्रयापमा पारेर नियन्त्रणमा लिएको हो। चितुवाले भदौ १ गते शिक्षालयभित्र पसेर बाख्रा र भदौ ३ गते कुकर खाएपछि नियन्त्रणमा लिन वन कार्यालयमार्फत बर्दिया राष्ट्रिय निकुञ्जको सहयोग मागिएको थियो।

निकुञ्जले भदौ ४ गते राखेको ट्रयापमा बुधबार बिहान २ बजेतिर भाले चितुवा थुनिएर नियन्त्रणमा आएको शिक्षालयका प्रमुख पारस खड्काले बताए। नियन्त्रणमा आएको चितुवा बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले बुधबार बेलुका निकुञ्जतिर लगेको छ ।

टीकापुर प्राविधिक शिक्षालय टीकापुर पार्कलगायत कर्णाली किनारमा सामुदायिक वनसँग जोडिएको छ। ‘बाघको सङ्ख्या बढेकाले ठूलो जंगलमा चितुवा टिक्न सक्दैनन्’ सव–डिभिजन वन कार्यालय टीकापुरका फरेष्टर भिष्मराज ओझाले भने, ‘जङ्गलको बाहिरपट्टि बस्ने भएकाले आहार खोज्दा गाउँनजिक भएकाले गाउँतिर आउने गरेको देखियो।’

लामो समयदेखि शिक्षालय आसपासमा चितुवा देखिदा त्रसित भएका त्यहाँका शिक्षालयका विद्यार्थी तथा प्रशिक्षकहरुको त्रास हटेको विद्यार्थी रामप्यारी कुँवरले बताए। २०८१ सालको साउनमा पनि चितुवाले टीकापुरको राजीपुर, सत्तीलगायतका क्षेत्रमा राति गाउँमा पसेर बाख्रा मार्ने गरेको थियो।

Dhn_Laingik Hinsa 2082
Loading...