बाजुरा : मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध भएपछि पाकेको स्याउ बारीमै थन्किएको छ ।
मार्तडी–कोल्टी सडक गत असारदेखि नै बन्द भएको छ । अहिले स्याउ पाकेर बारी पूरै रातो भएको छ तर बेच्न कुनै उपाय नरहेको बुढीनन्दा नगरपालिका स्याउ किसान मानबहादुर रावतले बताए ।
उनका अनुसार भदौको पहिलो हप्तादेखि अन्तिम हप्तासम्म स्याउ पाकेर सकिन्छ । त्यो बेलासम्म बेच्न नसके स्याउ सडेर जान्छ । बाजुराको बडिमालिका, गौमुल, बुढीगङ्गा, खप्तड छेडेदहलगायतका ठाउँमा थोरै थोरै मात्रमा स्याउ उत्पादन हुने गरेको भए पनि स्वामीकार्तिक खापर, जगनाथ, बुढीनन्दालगायतका पालिकामा भने स्याउ राम्रो उत्पादन हुन्छ ।
पछिल्लो समय यहाँका धेरै किसान स्याउ खेतीमा लागेका पनि छन् । उनीहरूले यहाँका स्थानीय स्याउभन्दा पनि बाहिरदेखि ल्याएको गोल्डेन गाभा, डेलिसिएस लगायतका स्याउ लगाएका छन् । यसरी स्याउ खेतीलाई नै मुख्य खेतीका रूपमा लगाउने गरेका यहाँका किसान बाटो बन्द भएर चिन्तित छन् ।
यता स्याउ पाक्यो उता बाटो बन्द भयो भन्ने उनीहरूको चिन्ता छ । आर्थिक वर्ष २०८०/८१ मा पनि यस्तै गरी बाटो नहुँदा कृषि ज्ञान केन्द्र बाजुराले खच्चडमा स्याउको ढुवानी गर्न अनुदानको व्यवस्था गरेको थियो । यस वर्ष भने त्यो व्यवस्था नभएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
