लम्कीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

धनगढी : कैलालीमा सर्पको टोकाईबाट एक बालकको ज्यान गएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका– १ का १३ वर्षिय बालक सुवास बिकको सर्पको टोकाईबाट मृत्यु भएको हो । स्थानिय बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत सुवासलाई गत भदौ १३ गते राति करिब साढे १० बजेतिर आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो ।

परिवारका अनुसार उनलाई करेत सर्पले दाहिने हातको औँलामा डसेको थियो । घटना लगत्तै उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । त्यहाँ एन्टिस्नेक भेनम दिइए पनि भेन्टिलेटरको अभाव रहेको भन्दै अस्पतालले नेपालगन्ज रिफर ग¥यो ।

परिवारजनले उनलाई कोहलपुर मेडिकल कलेज लगे पनि त्यहाँ भेन्टिलेटर खाली नभएको बताइएको थियो । त्यसपछि भेरी अस्पताल र अन्य निजी अस्पतालमा पनि भेन्टिलेटर नपाएपछि एक न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

भोलिपल्ट दिउँसो ३ बजेतिर भेरी अस्पतालमा सारिएका सुवासको उपचारकै क्रममा ज्यान गएको हो । पीडित परिवारले समयमै उपचार नपाउँदा र अस्पतालहरूको लापरबाहीका कारण सुवासको ज्यान गएको आरोप लगाएका छन् । सुवास परिवारका एक्ला छोरा थिए ।

Dhn_Laingik Hinsa 2082
Loading...