अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित खुटिया नदीका जोखिमयुत्त स्थलमा सूचनामुलक बोर्ड टाँसिएको छ । वडा नम्बर ९ को कार्यालयले बिहिबार जोखिमयुत्त स्थलमा सूचनामुलक बोर्ड टाँसेको हो ।
‘नदी गहिरो भएकोले पौडी खेल्न र तर्न सख्त मनाही छ लेखिएको सूचना बोर्ड जोखिमयुक्त स्थानहरुमा टाँसिएको हो ।’ नदीको अरु भागको तुलनामा गहिरो रहेको सेहरी गाउँको छेउमा र झोलुङ्गे पुल नजिक वडा कार्यालयले सूचनामुलक बोर्ड टाँसेको छ ।
गोदावरी ९ का वडा अध्यक्ष रामलाल रानाले नदीमा वर्षेनी हुने दुर्घटना कम गर्ने उदेश्यले जोखिमयुत्त स्थलमा सूचना बोर्ड टाँसिएको बताए । गत भदौ १२ गते एकैसाथ ४ किशोर गुमाउँदा ९ नम्बर वडा बासी स्तब्ध भएको बताउँदै उनले आमाबुवाले पनिनदी क्षेत्रमा नजानका लागि बालबालिकालाई सचेत गराउनु पर्ने बताए ।
बिहिबार दुई स्थानमा सूचना बोर्ड टाँसिए पनि अझै अरु ठाउँमा पनि जोखिम रहेकोले जानकारी सहितको सूचना बोर्डका लागि निजी निकायहरुसंग समन्वय भइरहेको रानाले बताए । त्यस्तै वडा सदस्य उद्धव भट्टराईले नदीको गहिराईको बारेमा जानकारी नहुँदा पनि प्राय व्यक्तिहरु नदीमा नुहाउन वा तर्न जाने भएकोले सूचना बोर्ड टाँस गरिएको बताए ।
राम्रोसंग पौडी खेल्न नजान्ने व्यक्तिले नदीमा पस्न नहुने भन्दै उनले नदी क्षेत्रमा हुने दुर्घटनाका बारेमा विद्यालयमा पनि बालबालिकाहरुलाई सचेत गराउनुपर्ने बताए । शेहरीका भलमन्सा चन्द्र बहादुर चौधरीले खुटियामा वर्षेनी मानिस गुमाउनु परिरहेको बताए । ज्यान गुमाउनेमा अधिकांश बालबालिका र किशोरहरु रहने गरेको भन्दै उनले अभिभावकहरुलाई आग्रह गरे ।
सो क्षेत्रमा लक्ष्मी महिला सामुदायिक वन र स्थानीयले पनि केहि दिन अगाडि सूचना बोर्ड टाँसेका छन् । गत भदौ १२ गते मात्रै धनगढीका ४ किशोरहरुको खुटिया नदीमा डुबेर मृत्यु भएको थियो भने भदौ २ गते गोदावरीका एक बालकको खुटियामै डुबेरै मृत्यु भएको थियो ।
केहि ठाउँमा मात्रै गहिरो भाग रहेको खुटियामा डुबेर वर्षेनी थुप्रै मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।