चौकीडाँडा-फल्टुडे सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय सडक आन्दोलनमा, भोलि अत्तरियामा चक्काजाम

अत्तरिया : कैलालीको अत्तरिया चोकमा भोली चक्काजाम गर्ने कार्यक्रम रहेको छ । गोदावरी नगरपालिकाको चौकीडाँडा-फल्टुडे सडक खण्ड निर्माणमा लामो समयदेखी ढिलाइ भएपछि स्थानीय जनप्रतिनिधि र स्थानिय बासिन्दाहरुले अत्तरिया चोकमा चक्काजाम गर्ने घोषणा गरेका हुन् ।

संघर्ष समितिसंगै वडा नं. ३, १०, ११ र १२ का जनप्रतिनिधीहरुले आज चोकमा पत्रकार सम्मेलनको आयोजना गरी भोली बिहान ९ बजेदेखि ११ बजे सम्म चक्काजाम गर्ने जानकारी दिएका छन् । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सडक निर्माण कार्य छ वर्षदेखि अलपत्र पारेकाले  चारवटै वडाका जनप्रतिनिधी सहित स्थानिय बासिन्दाहरूले भोलि अत्तरिया चोकमा चक्काजाम गर्ने कार्यक्रम घोषणा गरेका हुन् ।

सडक निर्माण कम्पनीलाई समयमै सडक निर्माण सम्पन्न गर्नका चारवटै वडाका वडाध्यक्षहरुले १९ र २० गते दुई दिन दबाब स्वरुप वडाको काम सडकबाटै सञ्चालन गरेका थिए । त्यसपछि संघर्ष समितिनै गठन गरी उनीहरुले दबाब स्वरुप चक्काजामसहित सडक आन्दोलनको घोषणा छन् ।

यसअघि जिल्ला प्रशासन र भौतिक पूर्वाधार कार्यालयमा पटक-पटक ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले बताए । संघर्ष समितिले सडक निर्माण कार्य अगाढी नबढेसम्म आन्दोलन निरन्तर गर्ने चेतावनी दिएको छ ।

चौकीडाँडा-फल्टुडे सडक निर्माणको ठेक्का एडवान्जर थिगीम जेभी र तेडी निर्माण सेवाले लिए पनि काम नगरेको स्थानियले बताएका छन् । पत्रकार सम्मेलन कार्यक्रममा वडा नं. ३ का तेज राज अबस्थी, वडा नं. ११ का वडा अध्यक्ष प्रेम सिंह बडैला र वडा नं. १२ का वडा अध्यक्ष भिम बहादुर खड्का, वडा नं. १० का कार्यबाहाक अध्यक्ष शेर बहादुर तामाङ, संघर्ष समितिका संयोजक बिक्रम बिक सहित स्थानियको सहभागिता रहेको थियो ।

Loading...