धनगढी : नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा आवातजावतमा कडाइ गरिएको छ।
प्रदेशका मुख्य गौरीफन्टा र गड्डाचौकी सीमानाकामा आवतजावतमा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले कडाइ गरेको हो। भारतको आधारकार्ड भएका नागरिकलाई मात्र भारत प्रवेश गर्न दिइएको त्रिनगर प्रहरी चौकीले जानकारी दिएको छ।
भारतबाट नेपाल भित्रिने नेपालीलाई भने आवतजावतमा रोक लगाइएको छैन। कञ्चनपुरको गड्डाचौकी नाकामा पनि आवतजावतमा कडाइ गरिएको स्थानीय पुष्कर भट्टले बताए। उनले भने, ’नेपाल फर्किनेलाई दिएको छ, भारत जान चाहनेलाई जान दिइएको छैन।’
उपचारमा जाने बिरामीलाई भने भारततर्फ जान दिइएको छ। मङ्गलबारको प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएर भारत जान लागेका कैदीलाई सीमानाकामै रोकी प्रहरीको जिम्मा लगाएको छ।