धनगढी : सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको मौकामा कारागारबाट भागेका दुई सय बढि कैदीबन्दी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले शुक्रबार बिहानसम्म कारागारबाट भागेका दुई सय ७३ कैदीबन्दीलाई पक्राउ गरिएको बताए ।
उनीहरू मध्ये कतिपय आफैं सम्पर्कमा आएका थिए भने धेरै जसोलाई प्रहरीले पक्राउ गरेको थियो । एसएसपी रानाभाटकाअनुसार पक्राउ परेका समेत गरेर अहिलेसम्म सुदूरपश्चिमका ९ जिल्ला कारागारमा पाँच सय ५७ जना कैदीबन्दी रहेका छन् ।
जेनजीको आन्दोलनमा प्रदर्शनकारीको सहयोगमा कैलालीसहितका जिल्ला कारागारबाट एक हजार चार सय ४५ कैदीबन्दी भागेका थिए । उनीहरू मध्ये शुक्रबार बिहानसम्म दुई सय ७३ जना पक्राउ गरिएपनि एक हजार एक सय ७२ जना भने फरार छन् ।
उनीहरूको खोजीका लागि प्रहरी परिचालन भइसकेका छन् । जिल्ला कारागारहरूले सार्वजनिक सूचना जारी गर्दै कैदीबन्दीहरूलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।